लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीयता लागू भएपछि विकास निर्माणले गति लिएको बताएका छन्। रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आठौँ वार्षिक साधारणसभा र तेस्रो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले २०७४ पछि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले विकास निर्माणलाई तीव्रता दिएको बताए।
उनले भने, ‘उत्तर-दक्षिण जोड्ने सडक कालीगण्डकी करिडोरले रामपुरको मात्र होइन, सिङ्गो लुम्बिनी प्रदेशको भविष्य निर्माण गरेको छ।’ रामपुर अस्पताल, रामपुर-कपुरकोट सडक र रामपुरफाँट सिँचाइ आयोजनाको काम क्रमशः अघि बढाउने उनले बताए।
विभिन्न विचार र आस्था भए पनि विकासका लागि एकजुट हुन उनले आग्रह गरे। दलहरूले केही गरेनन् भन्ने धारणालाई विगत र वर्तमानको तुलना गरेर हेर्नुपर्ने उनले बताए। वर्तमान व्यवस्था र राजनीतिक दलले केही गरेनन् भन्ने धारणा बनिरहेको भन्दै उनले विगत र वर्तमान अवस्थाको विश्लेषण गर्न सुझाए।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य एवं नेकपा (एमाले) संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले राजनीतिक स्थायित्वका लागि बनेको नेपाली कांग्रेस र एमालेको सरकार हल्लाको भरमा नढल्ने बताए। लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति एवम् रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले बढ्दो शहरीकरण भएको रामपुरमा खानेपानी आपूर्तिका लागि सङ्घीय सरकारको खानेपानी मन्त्रालय र खानेपानी तथा ढल निकास विभागको सहलगानीमा ६२ करोड ७६ लाख ८९ हजार १८४ रुपैयाँको आयोजना सञ्चालन गरी २०८२/८३ भित्र सात हजार धारा पुर्याउने निर्णय भएको जानकारी दिए।
रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले रामपुर साना शहरी खानेपानी हाल भूमिगत पानीमा निर्भर रहेको बताए। कालीगण्डकी डाइभर्सनले कालीगण्डकी सभ्यता, वातावरण र यहाँका खानेपानी स्रोतमा असर गर्ने भएकाले यो आयोजना जुनसुकै हालतमा रोक्नुपर्ने उनले बताए। रासस
प्रकाशित: १३ वैशाख २०८२ ०६:२१ शनिबार





