नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादी प्रवृत्तिका कारण प्रतिगमनकारीहरूले टाउको उठाइरहेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र अबको कार्यभार’ विषयक विचार गोष्ठीमा उनले यस्तो प्रवृत्तिलाई परास्त गर्नुपर्नेमा जोड दिए।
श्रेष्ठले यथास्थितिवाद सत्ता लोलुपता, भ्रष्टाचार र निरंकुशताको प्रमुख कारक बनेको उल्लेख गर्दै सरकार नै यथास्थितिवादको मुख्य वाहक भएको जिकिर गरे।
उनले प्रतिगमनविरुद्धको लडाइँलाई सफल बनाउन सरकारको यथास्थितिवादी चरित्रविरुद्ध पनि संघर्ष आवश्यक रहेको बताए।
उनले कम्युनिस्ट पार्टीहरूबीच एकता र ध्रुवीकरणको प्रक्रिया अघि बढाउँदै वामपन्थी पार्टीहरूको वामपन्थीकरणका लागि पहल गर्नुपर्ने आवश्यकता औँल्याए।
साथै, संविधानको प्रभावकारी कार्यान्वयनमार्फत सामाजिक–आर्थिक रूपान्तरणलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो।
श्रेष्ठले सडक, सदन र सरकारका मोर्चाहरूलाई संयोजन गरी शान्तिपूर्ण बाटोबाट समाजवादउन्मुख समृद्धिलाई मूल कार्यदिशा बनाउनुपर्ने बताए।
“हामीले लडेर ल्याएको संविधान र अधिकारसहितको व्यवस्थामा सरकारको नेतृत्व गर्दै शान्तिपूर्ण बाटोबाट अघि बढ्नुपर्छ,” उनले भने, “कम्युनिस्ट पार्टीहरूबीच सम्भव भएसम्म एकता र ध्रुवीकरणको प्रक्रिया अघि बढाउनुपर्छ।”
प्रकाशित: ९ वैशाख २०८२ १४:३१ मंगलबार





