नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७६औँ स्थापना दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ। ७६ वर्षअघि २००६ साल वैशाख ९ गते (तद्नुरुप २२ अप्रिल १९४९)मा आजकै दिन भारतको कोलकाताको श्यामबजारस्थित एक घरमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो।
पार्टीका तत्कालीन संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र संस्थापक नेतामा नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहेका थिए। तर मोतीदेवी भौतिक रूपमा उपस्थित थिएनन्।
कम्युनिष्ट घोषणापत्र जारी भएको १०२ वर्षपछि र सोभियत सङ्घमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ वर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो।
नेपालमा जहानियाँ राणा शासन रहेको बेला भूमिगत रूपमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले शोषण, उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य लिएको थियो।
अहिले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेकपा (माले)लगायतका पार्टी छन्। विसं २०७५ जेठमा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बने पनि त्यो पनि धेरै लामो समय टिक्न सकेन।
नेपालका कम्युनिष्ट पार्टीहरूले आज विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउँदै छन्। स्थापना दिवसका अवसरमा आज एमालेले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा १२ः३० बजे विशेष कार्यक्रम गर्ने जनाएको छ।
दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गरेका सात जना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गर्ने र ‘सेल्टर’ पुस्तक पनि सार्वजनिक गर्ने भएको छ। यस्तै माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत पार्टीले पनि विविध कार्यक्रम गरी दिवस मनाउँदै छन्।
प्रकाशित: ९ वैशाख २०८२ ०९:४४ मंगलबार