नेकपा (एमाले)का पूर्वनेता तथा मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण शिक्षकहरू विद्यालय फर्किने अवस्था नबनेको आरोप लगाएका छन्।
शिक्षकहरू शिक्षक महासङ्घको झण्डामुनि २०८१ चैत २० यता निरन्तर आन्दोलनमा छन्। उनीहरूले शिक्षा ऐनको एकसूत्रीय माग राखेका छन्।
विभिन्न २२ बुँदे मागसहित आन्दोलनरत शिक्षकहरूले सरकारसँग पनि संवाद त गरेका छन् तर, सडक पनि छाडेका छैनन्। यसैलाई इङ्गित गर्दै रावलले प्रधानमन्त्री ओलीका प्रति यस्तो आरोप लगाएका हुन्।
रावलले यस्तो लेखेका छन्-
नेपालको सामुदायिक शिक्षा (सार्वजनिक शिक्षा) यसै पनि अत्यन्त कमजोर रहेको र विद्यार्थीहरू सके विदेश नभए निजी विद्यालयमा पढ्न जाने प्रवृत्ति बढेर शिक्षा क्षेत्र असमानता र समस्याको घर बन्दै गइरहेको स्थितिमा विद्यालयको उत्तरपुस्तिका परीक्षण, नयाँ भर्ना र कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपर्ने समयमा शिक्षकहरूको सडक आन्दोलन भएको २० दिन भइसक्दा पनि शिक्षकहरूलाई काममा फर्काउने गरी सरकारले वार्तालगायत यथोचित उपाय निकाल्न नसक्नु गठबन्धन सरकार, विशेषतः प्रधानमन्त्री केपी ओलीको चरम अयोग्यता तथा लाखौं विद्यार्थीहरू एवम् जनताप्रतिको गैरजिम्मेवार चरित्रको नमूना हो। यही हो र सुशासन भनेको ?
प्रकाशित: ८ वैशाख २०८२ १४:५१ सोमबार





