१ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

अफ्रिका कप अफ नेसन्स चार वर्षमा गर्ने निर्णयप्रति आपत्ति

माली फुटबल टोलीका प्रशिक्षक टोम सेन्टफिएटले अफ्रिका कप अफ नेसन्स हरेक दुई वर्षको सट्टा चार वर्षमा एकपल्ट आयोजना गर्ने निर्णयप्रति कडा आलोचना गरेका छन्।

अफ्रिका कप अफ नेसन्स आयोजना चार वर्षमा एकपल्ट गर्ने निर्णयप्रति आपत्ति जनाउँदै मालीका प्रशिक्षक टोमले फिफा र युरोपियन क्लबको पैसाको दबाबमा अफ्रिकी महादेशमा थोपिएर दाबी गरेका छन्। ‘म यो निर्णयप्रति धेरै आश्चर्य र निराश पनि छु। यो प्रतियोगिता अफ्रिकी फुटबलको गर्व हो।

अफ्रिकामा उत्कृष्ट फुटबलर जन्माउने थलो पनि हो अफ्रिकी कप अफ नेसन्स,’ बेल्जियन प्रशिक्षक टोमले भने, ‘तर यसलाई धेरै पर धकेलिँदै चार वर्षको अन्तरमा पु¥याइँदै छ, जुन निर्णय दुखलाग्दो हो।’

मोरोक्कोमा हाल अफ्रिकी कप अफ नेसन्स चलिरहेको छ। माली र मोरोक्कोबीचको खेलअगाडि टोमले प्रतियोगिता आयोजना अन्तर बढाउन लागिएकोमा कडा आपत्ति जनाएका हुन्।

‘यो अफ्रिकाबाट नै प्रस्ताव भएको भए म बुझ्दथें । तर, यो ठूलो ठाउँ युइएफए (युरोपेली फुटबलको प्रशासकीय निकाय) बाट भएको प्रस्ताव हो। युरोपमा ठूला क्लब छन्। फिफा र सोही ठूलो क्लबको दबाबमा यो दुःखलाग्दो निर्णय भएको छ,’ युरोपियन प्रशिक्षक टोमले आलोचना गर्दै भनेका छन्। ५२ वर्षीय प्रशिक्षक टोमले यसअघि पनि अफ्रिकी राष्ट्रमा नै प्रशिक्षण गर्दै आएका छन्।

उनको प्रशिक्षणमा गाम्बिया सन् २०२२ को अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलसम्म पुगेको थियो। उनी गत वर्षको अगस्टमा मालीको प्रशिक्षक नियुक्त भएका हुन्। उनकै प्रशिक्षणमा समूह ‘ए’ को मालीले आयोजक राष्ट्र मोरोक्कोसँग प्रिन्स मौले अब्देल्लाह स्टेडियममा खेल्दै छ।

सन् १९५७ देखि अफ्रिकी महादेशीय फुटबल प्रतियोगिता अफ्रिका कप अफ नेसन्स हरेक दुई वर्षको अन्तरमा आयोजना हुँदै आएको छ तर गत हप्ता मात्र अफ्रिकी फुटबल महासंघका अध्यक्ष प्याट्रिस मोत्सेपले सन् २०२८ पछि अफ्रिकी कप अफ नेसन्स हरेक चार वर्षको अन्तरमा हुने घोषणा गरेका थिए। ‘हामी लामो समयदेखि सम्मानका लागि लड्यौं। अहिले युरोप हाम्रो इतिहास मेटाउन खोज्दै छ। ६८ वर्ष पुरानो हाम्रो इतिहास मेटिन सक्छ। यसको कारण ती क्लबहरू आर्थिक सहायताको नाममा भएको हो। उनीहरू खेलाडीमाथि पनि ठूलो भार बोकाइरहेका छन्,’ टोमले भने, ‘विश्वकप ४८ राष्ट्रबीच गराउने पनि उनीहरूको नै योजना हो।’

खेलाडीमाथि धेरै भार नथोपर्ने हो भने अफ्रिका कप अफ नेसन्स चार वर्षमा गर्न सकिने उनको भनाइ छ। उनले अफ्रिका विश्व फुटबलमा सबैभन्दा ठूलो महादेश रहेको बताए।

‘विश्व फुटबलमा अफ्रिका पनि ठूलो महादेश हो। युरोपका ठूला स्टार अफ्रिकन नै छन्। त्यसैले हरेक चार वर्षमा यो प्रतियोगिता सारिनु भनेको अफ्रिकामाथि अपहेलना गर्नुसरह हो,’उनले भने, ‘यो निर्णयपछि धेरै दुःखी भएको छ। युरोपेली दबाबभन्दा अफ्रिकी फुटबलप्रतिको मायाले जित्ने आशा गरेको छु।’            

प्रकाशित: ११ पुस २०८२ ०८:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App