परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा आइतबार थाइल्यान्डको बैंकक जाने भएकी छन्। सोमबारदेखि शुक्रवार(२१ देखि २५ अप्रिल)सम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग–युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एन्ड द प्यासिफिक (युएनस्केप) को ८१ औँ सत्रमा सहभागी हुन मन्त्री देउवा त्यहाँ जान लागेकी हुन्।
नेपाल हाल युएनस्केपको अध्यक्ष छ। यही कारण मन्त्री देउवाले उक्त आयोगको ८१औँ सत्रको अध्यक्षता गर्ने कार्य तालिका छ । सो सत्रलाई उनले नेपालका तर्फबाट सम्बोधन गर्नेछिन्।
यस सत्रको विषयवस्तु एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको छ । सो सत्रमा मन्त्री देउवाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्यान्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ।
मन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल शुक्रवार(अप्रिल २५) स्वदेश फर्कने कार्यक्रम छ ।
प्रकाशित: ६ वैशाख २०८२ १८:४८ शनिबार





