११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सत्ता साझेदार दल कांग्रेस र एमालेबीच कुनै समस्या छैन : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सम्बन्धमा कुनै समस्या नरहेको बताएका छन्।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यकममा उनले दल एवं सत्ता साझेदारीमा कुनै समस्या नभएको भन्दै सरकार पनि नढल्ने स्पष्ट पारे।

सरकार सहमतिका साथ नै अघि बढिरहेको भन्दै उनले भने, 'साथीहरूले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनु परेको छ।'

पछिल्ला समयमा संविधानका साथै संघीय लोकतान्त्रि गणतन्त्र विरोधी गतिविधिहरू देखा परिरहेको बताउँदै उनले संविधान विरोधी एवं लोकतन्त्र विरोधी गतिविधि जनताले नरोज्ने स्पष्ट पारे।

लोकतन्त्रमा स्वतन्त्र प्रेस तथा सञ्चारमाध्यम रहने उल्लेख गर्दै लोकतन्त्र विरोधीहरूको पहिलो प्रहार नै सञ्चार माध्यम माथि हुने गरेको हामीले विगतमा भोगिसकेको उल्लेख गरे।

अघिल्लो पुस्तका साथै वर्तमान पुस्ताको अथक प्रयासबाट वर्तमान संविधान बनेको उल्लेख गर्दै उनले यसको रक्षा गर्नु सबैको कर्तव्य भएको बताए।

नेपालमा सात दशकको अन्तरालमा सातवटा संविधान बन्नुले अस्थिरतालाई देखाउने बताउँदै गृहमन्त्रीले वर्तमान संविधानलाई पनि अन्त्य गरी मुलुकलाई पुन: अँध्यारोतर्फ धकेल्न नदिइने उल्लेख गरे।

लोकतन्त्रमा कमीकमजोरीलाई पनि सुधार गर्दै जान सकिने बताउँदै उनले यसमा नागरिक सर्वोपरि हुने स्पष्ट पारे।

संविधान विरोधी गतिविधिका माध्यमबाट अराजकता, वितण्डा मच्चाउन खोज्ने प्रवृत्तिलाई राजनीतिक रूपमा जवाफ दिनुका साथै कानुन बमोजिम पनि अघि बढ्ने उनको भनाइ छ।

आमाको नाममा नागरिकता प्रदान गर्ने सम्बन्धमा विधेयक अघि बढाइसकिएको बताउँदै उनले यो समस्या चाँडै नै समाधान हुने विश्वास व्यक्त गरे। आफू गृह मन्त्रालयको जिम्मेवारी सम्हाले यताको नौ महिनाको अवधिमा कानुनी एवं नीतिगत व्यवस्थालाई प्रभावकारी बनाउनेतर्फ लागेको उनले जानकारी दिए। 

आवश्यक विभिन्न कानुनहरू संसदमा प्रस्तुत हुने गरी तयारी भएको गृहमन्त्री लेखकले जानकारी दिए। अपराध नियन्त्रण, लागु औषध, आत्महत्या, साइबर अपराध जस्ता विभिन्न चुनौतीको सामना गर्ने कुरामा सरकार दृढ रूपमा अघि बढेको उनले जानकारी दिए्।

गभर्नर नियुक्ति लगायतका विषयमा समस्या नरहेको भन्दै उनले सही व्यक्तिलाई सही स्थानमा ल्याइने बताए।

शिक्षकका मागलाई सम्बोधन गर्ने सम्बन्धमा सरकार प्रतिबद्ध भएको उनको भनाइ छ।

प्रकाशित: ६ वैशाख २०८२ १३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App