२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

पोखरा सडक महोत्सव आईतबारदेखि

पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा अंग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजना हुँदै आएको सडक महोत्सव आगामी आईतबारदेखि सुरु हुने भएको छ । पोखराको पर्यटन प्रवद्र्दन गर्ने उद्देश्यले रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा हुन लागेको २७ औं संस्करणको सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आईतबारदेखि शुरु भएर पुस १७ गतेसम्म चल्ने महोत्सवमा व्यवसायीहरुले सडक महोत्सवको अवधारणा अनुरुप सडकमा खानाका परिकारहरु पस्कने छन् । आयोजकका अनुसार लेकसाईडकको खहरेदेखि अम्बोटसम्मको करीब साढे ३ किलोमिटर क्षेत्रमा सडकमै खानाका परिकारहरु पाक्नेछन् ।

कला संस्कृति प्रवद्र्दन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीको बजारीकरणमा सघाउन, पोखरा र लेकसाईडको प्रचारप्रसार, व्यापार बढाउन, पोखराको ब्राण्डिङ गर्न महोत्सव आयोजना गर्न लागिएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए । उनले भने,‘महोत्सव संस्कृतिजस्तो बनेको छ । यसले अर्थतन्त्र चलायमान बनाउनेछ भने पोखराको प्रचारप्रसार र ब्राण्डिङमा पनि सघाउने छ ।’

महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने छुट्टाछुट्टै प्रतियोगिता, सचेतनामुलक सडक नाटक, सेल्फी फोटो बुथलगायत रहने कार्यक्रम संयोजक वसन्त गौतमले जानकारी दिए ।  

त्यस्तै, महोत्सव अवधीभरमा पोखराको पर्यटनको विकास, प्रवद्र्दन, अवसर तथा चुनौतिका विषय केन्द्रीत अन्र्तक्रिया कार्यक्रम पनि हुने उनले बताए । महोत्सवमा पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनी गरिने उनको भनाई छ ।

महोत्सवमा यस वर्ष न्यू ईयर ईभको दिन पुस १६ गते एक्स नेपथ्य, उज्जन शाक्य, डिमर्चा, लेकाली, देउराली व्याण्डको लाईभ प्रस्तुती रहने सांगीतिक उत्सव कार्यक्रम संयोजन गरिरहेको अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार न्यू ईयर ईभ स्पेसलका रुपमा यस वर्ष कार्टुन क्रुजकी भाइरल डान्सर आस्मा विश्वकर्मा र सरोज अधिकारीले छिकिरी, छिकिरीलगायतका गीतहरुमा प्रस्तुति दिनेछन् । त्यस्तै, पुस १५ गते तमु समुदायको सांस्कृतिक पर्व ल्होसार विशेष कार्यक्रम हुने उनले जानकारी दिए । उनका अनुसार सो दिन ल्होसार विशेष कार्यक्रमसँगै स्वप्न सुमन, केहर एण्ड द लुङ्गा, चक्र व्याण्डलगायतको लाईभ प्रस्तुति रहनेछन् भने प्रिती आले, देउराली व्याण्डका पुराना गायक आनन्दराज बज्राचार्य, सन्तोष बस्याललगायतले प्रस्तुति दिनेछन् ।

पुस १४ गते भने अन्तरविद्यालय खुल्ला नृत्य प्रतियोगिता हुनेछ भने दिउँसोदेखि साँझसम्म ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि बिजेता तथा उपबिजेताहरुको सांगीतिक प्रस्तुति रहनेछ।

रेवान पोखराका अध्यक्ष पौडेलले प्रशासनको सहयोग मिले महोत्सवको मूख्य आकर्षणका रुपमा रहेको आतसबाजी यस वर्ष पनि गरिने बताए । उनले भने, ‘यसले महोत्सवको रौनकता थप्छ, आम सर्वसाधारण र पर्यटकको चासो पनि छ, त्यसैले प्रशासनको सहयोग भए यस वर्ष पनि आतसबाजी हुन्छ।’

प्रकाशित: ११ पुस २०८२ १७:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App