सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक हस्तक्षेपका कारण नेपालको खेलकुद क्षेत्र पछाडि परेको बताए।
आइकेओ नेपाल इन्टरनेशनल कराते क्योकुशिनकाई एसोसिएसनले ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलमा आयोजना गरेको पाँचौँ पुरुष तथा महिला राष्ट्रव्यापी क्योकुशिनकाई कराते प्रतियोगितामा मन्त्री गुरुङले नेपालको भूगोलअनुसार मार्सल आर्टमा जोड दिए अन्तर्राष्ट्रिय सफलता हासिल गर्न सकिने बताए।
उनले भने, ‘खेलकुदलाई महत्व दिएकोमा खुसी व्यक्त गर्न चाहन्छु, खेलकुदमा हामीले धेरै काम गर्न सक्छौँ, नेपालको गरिमा र प्रतिष्ठा कायम गर्न सक्छौँ, राष्ट्रिय स्वाभिमान कायम राख्न सक्छौँ।’ आगामी वर्षको नीति तथा कार्यक्रममा खेलकुद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहन गर्ने विषय समेट्ने उनले बताए।
उनले थपे, ‘विश्वस्तरमा हुने प्रतिस्पर्धामा भाग लिन सक्ने खेलाडी उत्पादनमा हामीले जति गर्नुपर्ने हो त्यति गर्न सकेका छैनौँ, खेल पूर्वाधारको पर्याप्त विकास गर्न नसक्दा हामी पछाडि परेका छौँ, त्यसलाई ध्यान दिने छौँ।’
नेकपा (एमाले) बागमती प्रदेशका सचिव नवराज सिलवालले यस्ता स्थानीय प्रतियोगिताले युवा खेलाडीलाई प्रेरणा दिने बताए। उनले खेलाडीलाई प्रतिबद्ध भएर खेल्न आग्रह गरे।
आइकेओके क्योकुशिनकाई नेपालका मुख्य प्रशिक्षक समीर श्रेष्ठका अनुसार प्रतियोगितामा १७ प्रशिक्षकले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन्। एसोसिएसनका शाखा प्रमुख केशव देसारले आज सुरु भएको प्रतियोगिता भोलि शनिबार सम्पन्न हुने बताए।
प्रकाशित: ५ वैशाख २०८२ २०:४६ शुक्रबार





