११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्छौं: लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेका छन्।

बिहीबार बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले नागरिक अधिकार सङ्कुचित गरेको भन्दै यस्तो निर्णय लिइएको बताए।

“सरकारले नागरिक अधिकारलाई सङ्कुचित बनाउँदै लगेको छ, त्यसविरुद्ध हामी निषेधित क्षेत्रमै प्रदर्शन गर्छौँ,” उनले भने।

अध्यक्ष लिङ्देनले वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शन आयोजना गरिने पनि जानकारी दिए।

साथै, चैत १५ गते तीनकुने घटनामा पक्राउ परेका पार्टीका नेता रविन्द्र मिश्र, धवलशमशेर राणा लगायत सबैको निःशर्त रिहाइको माग पनि गरे।

वैशाख २० गतेभित्र आफ्ना नेताहरूको रिहाइ नभए आन्दोलनलाई थप चर्काउने राप्रपाले चेतावनी दिएको छ।

लिङ्देनले आवश्यक परे सबै नेता सामूहिक रूपमा थुनामा जान तयार रहेको समेत बताए।

राप्रपाले सरकारको रवैयाविरुद्ध कडा कदम चाल्ने संकेत गर्दै आन्दोलनलाई व्यवस्थित र प्रभावकारी बनाउन रणनीति बनाइरहेको जनाएको छ।

प्रकाशित: ४ वैशाख २०८२ १६:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App