१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

कतिबेला सरकार ढल्छ भनेर कुरेर बस्नु प्रतिपक्षी दलको धर्म : कांग्रेस

नेपाली कांग्रेसले वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नभएको बताएको छ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी, पूर्वपदाधिकारी र सरकारमा रहेका पार्टीका मन्त्रीहरू सहभागी बैठकले सरकारमा रहेका दलहरूबीच थप सहकार्य गर्दै जाने निष्कर्ष निकालेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गदै पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले नयाँ वर्षमा नयाँ सरकार बन्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको भनाइमा कुनै टिप्पणी नभएको बताए। उनले भने, प्रतिपक्षी दलको अपेक्षा भनेको नै सरकारको विपक्षमा बोल्ने हो। सरकार ढलिहालोस् र आफू सरकारमा सहभागी हुन पाउँ भन्ने त उसको धर्म नै हो।  

नेपाली कांग्रेसले सरकारको काम गर्ने गति ढिलो भएको र यसलाई थप सशक्त बनाउँदै लैजाने निष्कर्ष निकालेको छ। यसका लागि गठबन्धनमा रहेका अन्य दलहरूसँग पनि सहकार्य गर्ने र त्यसका लागि नेतृत्व तहले निरन्तर कुराकानी गर्ने निचोड निकालेको प्रवक्ता महतले जानकारी दिए।  

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्ना विचारहरू बैठकमा राखेको जानकारी दिँदै डा.महतले उनीहरूको मागबारे सभापति देउवाले समेत सम्बोधन गरेको बताए। जवाफमा सभापति देउवाले सरकारसँगको तालमेलका लागि आफैँ कुराकानी गर्ने र यसलाई थप बलियो बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेको डा.महतले बताए।

गर्भनरसहितका विभिन्न पदमा नियुक्ति हुन नसकेको विषयमा त्यसका लागि सन्तुलन आवश्यक रहेको र छलफलकै क्रममा रहेको सभापति देउवाले बैठकलाई जानकारी गराएका थिए।

प्रकाशित: ४ वैशाख २०८२ १३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App