प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटार बोलाएर एक घण्टा छलफल गरेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सभापति देउवालाई प्रधानमन्त्रीको पासा फ्याँकेर राजनीतिक महोल तरंगित पारेका बेला मंगलबार बिहान दुई नेताबिच भेट भएको हो।
भेटको विषय भने पूर्ण रूपमा बाहिरिएको छैन। प्रधानमन्त्रीको सचिवालयले दुई नेताबिच नियमित भेट मात्रै रहेको जनाएको छ।
‘गठबन्धनका दुई प्रमुख नेताबिच यो नियमित भेट मात्रै हो। यसमा सरकारका कामकारबाही, राष्ट्रिय राजनीति र सरकारले चाल्नुपर्ने कदमबारे आवश्यक छलफल त हुने नै भयो,’ सचिवालयस्रोतले भन्यो।
उसो त सरकारका कामकारबाही र प्रधानमन्त्री ओलीको भूमिकाबारे पछिल्लो समय कांग्रेसभित्र पनि ठुलो असन्तुष्टि देखिन थालेको छ।
राजनीतिक संयन्त्रमा बसेर सरकारका कामलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गरिरहेका कांग्रेस महामन्त्री गगन थापा नै खुलेर असन्तुष्टि व्यक्त गरिरहेका छन्।
यही बेला दाहालले पनि कांग्रेस सभापति देउवालाई खुला रुपमा प्रधानमन्त्रीको प्रस्ताव राख्दा एमालेभित्र पनि संशयको स्थिति छ। उता सभापति देउवा आफ्नो अडानमा अडिग रहीरहेसम्म सरकार तलमाथि नहुने अवस्था पनि छ।
माओवादी अध्यक्ष दाहालले देउवासँग भेट्नका लागि प्रस्ताव गर्दा उनले अस्वीकार गरेका समाचार पनि बाहिरिइसकेका छन्।
यही बेला गठबन्धनभित्रको अवस्था सामान्य बनाउन प्रधानमन्त्री ओलीले देउवासँग छलफल गरेको बुझिएको छ। छलफलमा सरकारलाई थप प्रभावकारी बनाउन राजनीतिक संयन्त्रलाई सक्रिय बनाउने कुरा पनि भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
‘आवश्यकता अनुसार राजनीतिक संयन्त्रलाई प्रभावकारी रुपमा सक्रिय बनाउने कुरा भएको छ। सम्भवतः छिट्टै संयन्त्रको छलफल बस्छ,’ सचिवालयस्रोतले भन्यो।
प्रकाशित: २ वैशाख २०८२ १४:५७ मंगलबार





