प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको युवा शक्तिलाई कुनै पनि राजनीतिक दलले बराबरी गर्न नसक्ने दाबी गरेका छन्।
झापाको दमकमा शनिबार आयोजित एमाले झापा जिल्ला कमिटीको जागरण सभालाई सम्बोधन गर्दै उनले युवाहरूलाई देश निर्माणको मुख्य आधारको रूपमा प्रस्तुत गरे।
“हाम्रा युवाहरू देशको भविष्य हुन्। वैशाख ११ गते लोकतन्त्र दिवसमा काठमाडौंमा आयोजना हुने युवा महोत्सवले एमालेको युवा शक्तिको सामर्थ्य देखाउनेछ,” प्रधानमन्त्री ओलीले भने।
उनले ४० वर्षमुनिका युवाहरूलाई उक्त महोत्सवमा सहभागी भएर लोकतन्त्रको उत्सव मनाउन आह्वान पनि गरे।
उनले सरकारले युवाहरूलाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्न विशेष नीति ल्याइरहेको सुनाए। “युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न र स्वदेशमै सम्भावना देखाउन हामी प्रतिबद्ध छौँ,” ओलीले जोड दिए।
प्रधानमन्त्रीले देश स्थायित्व र विकासको बाटोमा अघि बढेको उल्लेख गर्दै एमालेको नेतृत्वमा मात्र समृद्ध नेपालको सपना पूरा हुने दाबी गरे। “अस्थिरता र अराजकता फैलाउने तत्वहरूलाई जनताले अस्वीकार गरिसकेका छन्। अब कानुन र विधिको शासनले देश अगाडि बढ्छ,” उनले भने।
प्रकाशित: ३० चैत्र २०८१ १६:५० शनिबार





