११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

पशुपति शमशेरको घरमा किन जम्मा भए राप्रपा नेता?

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर राणाले पार्टीका आफ्ना नेताहरूको रिहाइको माग गरेका छन्। पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई रिहाइ नगरे आन्दोलनमा जाने चेतावनीसमेत उनले दिए।  

पूर्वअध्यक्ष राणाको निवासमा पुगेको टोलीसँग शुक्रबार उनले प्रजातन्त्र र मानवअधिकारको मान्यताविपरीत थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको बताए। ‘अभिव्यक्ति स्वतन्त्रता सबै नागरिकको नैसर्गिक अधिकार हो,’ उनले भने, ‘प्रजातन्त्रमा विचार स्वतन्त्रता हुन्छ, फरक मत राख्न पाइन्छ।’ ‘यही हकअधिकार प्रयोग गर्दा पार्टीका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेरलाई थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको छ,’ पूर्वअध्यक्ष राणाले भने।

हिरासतमा रहेका उपाध्यक्ष मिश्र, महामन्त्री राणालगायतका राष्ट्रवादी योद्धाहरूको रिहाइका लागि पार्टीले सडकमा दबाबमूलक कार्यक्रम गर्नुपर्ने उनले केन्द्रीय पदाधिकारीसहितको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै बताए। चैत १६ गते बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले सरकारले दुई नेतालाई चौबीस घण्टाभित्र रिहा गर्नुपर्ने, नभए राप्रपा आन्दोलनमा उत्रने निर्णय गरेको थियो।  

पार्टीको निर्णयबमोजिम झुटा मुद्दामा फसाइएका नेताहरूको रिहाइका लागि राप्रपाले देशव्यापी सडक प्रदर्शन गर्नुपर्ने, सबै राष्ट्रवादी शक्तिहरूसँग एकजुट भएर संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनःस्थापनाका लागि निर्णायक आन्दोलन गर्नुपर्ने विचार प्रतिनिधिमण्डलमा सहभागी नेताहरूले व्यक्त गरे। नेता राणाको निवासमा उपस्थित राप्रपाका नेता–कार्यकर्ताहरूले राप्रपाको राष्ट्रिय झण्डा बोकेर आन्दोलनमा होमिनुपर्ने बताएका थिए।  

पूर्वअध्यक्ष राणाको निवासमा पुगेको टोलीका तर्फबाट महामन्त्री कुन्ती शाही, बागमती प्रदेश प्रमुख विक्रम थापा, प्रवक्ता सगुनसुन्दर लावती, कार्यसम्पादन समिति सदस्य कर्णबहादुर शाही, सहमहामन्त्री रवीन्द्रप्रताप शाह, वरिष्ठ केन्द्रीय सदस्यहरू जगत गौचन र राजाराम श्रेष्ठ, काठमाडौँ जिल्ला अध्यक्ष नवराज सिंहडा, युवा नेता राजु लोहनीले आन्दोलन समयको माग भएको, देश अब आन्दोलन र परिवर्तनबाट पछाडि फर्कन नसक्ने भन्दै राप्रपाले निर्णायक रूपमा आन्दोलनको बिगुल फुकेर अघि बढ्नुपर्ने बताए।  

प्रतिनिधिमण्डलमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू, सांसदहरू, जनवर्गीय सङ्गठनका पदाधिकारी–सदस्यहरू, काठमाडौँ उपत्यकाभित्रका जिल्ला नेतृत्व तह समावेश थिए। 

प्रकाशित: २९ चैत्र २०८१ २१:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App