नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रमुख दलका शीर्ष नेतातर्फ इंगित गर्दै ‘राजनीतिको चुली’मा बसेकाहरूको नालायकी र भ्रष्टाचार नागरिकले भुल्ने गरी तीनकुने घटनाको प्रचार भइरहेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा एक लामो अभिव्यक्ति सार्वजनिक गर्दै महासचिव भुसालले यस्तो लेखेका छन्।
‘चैत्र १५ गते राजावादीहरूले जे गरे त्यो आपराधिक थियो,’ महासचिव भुसालले लेखेका छन्,‘त्यसको निन्दा–भर्त्सना हुनुपर्थ्यो, भइरहने छ ।’ त्यसपछि उनले त्यो घटनाको प्रचारलाई लिएर शीर्ष नेतामाथि कटाक्ष गरेका छन्।
‘तर अहिले त्यो घटनाको प्रचार यसरी गर्न थालिएको छ, ताकि राजनीतिको चुलीमा बसेर यिनीहरूले गरेका सबै नालायकी र भ्रष्टाचार आम नागरिकले भुलुन्, बरु यिनीहरूलाई उभ्याउनु पर्ने कठघरामा पनि ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईँलाई नै उभ्याइयोस्,’ भुसालले लेखेका छन्।
मुलुकमा गएको ७५ वर्षमा ‘केही भएको छ’ भन्ने कुरा भुसालले स्वीकार गरेका छन्। तर अहिले ‘विकास भएको’ राष्ट्रिय भाष्य निर्माण गर्न एउटा नयाँ प्रोपगन्डा जत्थालाई खटाइएको दाबी गरेका छन्। ‘..ताकि यिनको दलाल/बिचौलिया गिरोहले गरेको राज्य दोहनको कुन मूल्य चुकाएर मुलुकले आजको बाटो, औसत आयु, स्वास्थ्य र साक्षरता, मोबाइल फोनजस्ता ‘विकास’ पाएको छ भन्ने तितो यथार्थ नागरिकका दिमागबाट मेटियोस्,’ भुसालले अगाडि लेखेका छन्।
यस्तै उनले रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन साहलाई ‘अल्लारे’को संज्ञा दिँदै उत्ताउला र अशोभनीय हर्कत गरिरहेको पनि टिप्पणी गरेका छन्।
‘रवि लामिछाने र बालेन साहका अल्लारे/उत्ताउला हर्कत अशोभनीय छँदै छन्,’ उनले अगाडि लेखेका छन्, ‘तर आफ्ना पाखण्डपूर्ण मिहिनेतबाट तयार भएको सामाजिक लफङ्गाहरूको अल्लारे उत्ताउलो समुदायले अरू कसैलाई नेता मानेर आफ्नै विरुद्ध नारा लगाउन थालेपछि सत्ता गठबन्धन झस्किएको छ ।’ रवि/बालेनहरूको उखरमाउलोलाई ‘राष्ट्रिय खतरा देखाउन’ खोजिएको बताउँदै उनले त्यसबाट ‘सत्ताधारीका पाप पखाल्न’ खोजिरहेको पनि दाबी गरेका छन्।
‘संक्षेपमा यिनीहरू चाहन्छन्–चन्द्र–सूर्य रहेसम्म मुलुकको यही बेरोजगारी र कुशासनमाथि आफ्नो शासन सुरक्षित रहोस् तर यिनीहरूमाथि प्रश्न नउठोस्,’ महासचिव भुसालले लेखेका छन्।
नेपालको राजनीतिले प्रायश्चित्त नगर्दासम्म ‘विद्रुप सपनाको ऐँठन’ले गणतन्त्रलाई झस्काइरहने पनि भुसालले उल्लेख गरेका छन्। ‘हामीले यिनीहरूको पाप बोकिरहनु र मुलुकको वास्तविक जीवनमा लोकतन्त्र आउनु असम्भव छ,’ शीर्ष नेतातर्फ इंगित गर्दै उनले लेखेका छन्।
प्रकाशित: २९ चैत्र २०८१ १३:४६ शुक्रबार





