श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा रहेको बताएका छन्।
शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन्। सरकारले वैदेशिक रोजगार ऐन श्रम ऐनलाई समय सापेक्ष बनाउनका लागि सरोकारवालाहरूसँग सल्लाह सुझाव माग गरेको पनि उनले जानकारी दिए।
कानुनहरूलाई समसामयिक बनाउन र श्रमिकले पाउने अधिकारको ग्यारेन्टी गर्नको लागि सरकार र निजी क्षेत्रबिच समन्वय हुन आवश्यक रहेको उनको भनाइ छ। उनले घरेलु कामदारको रूपमा वैदेशिक रोजगारमा जान निषेध गर्ने निर्णय समेत खारेज गरिसकेको बताए।
वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सरकार लागिपरेको उनको दाबी छ।
प्रकाशित: २९ चैत्र २०८१ १२:४७ शुक्रबार





