११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

अख्तियारलाई मेयर राईको आग्रह : पानीमा राजनीति गर्नु हुँदैन, तिर्खाएका मानिसहरूको श्राप लाग्ला

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पानीमा राजनीति नगर्न आग्रह गरेका छन्।

बिहीबार मेयर राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीलाई एक पत्र पठाउँदै यस्तो आग्रह गरेका हन्। आयोगको कार्यालय इटहरीमा धरानमा भइरहेका विभिन्न योजनाहरूमा आर्थिक अनियमितता भएको भन्दै उजुरी परेको थियो। उनीविरुद्ध उजुरी परेपछि अख्तियारले उनलाई सोधपुछका लागि भन्दै पत्राचार गरेको थियो। सोही उजुरीको जवाफी पत्रमा लेख्दै मेयर राईले मेलम्ची, दमक टावर, एनसेल र वाइडबडी घोटालाजस्ता कुरातिर नलागेर श्रमदान अभियानको खेदो नखन्न समेत आग्रह गरे।

उनले भने, 'राज्यको ढुकुटी खर्चेर बनाएको मेलाम्ची, दमक टावर, एनसेल, वाइडबडी जस्ता कुरा तिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु है, नखन्नु तिर्खाएका मानिसहरूको श्राप लाग्ला। पानी भनेको विकास होइन जीवनको आधार, मानिसको आधारभूत आवश्यकता हो। पानीमा राजनीति गर्नु हुँदैन। पानी माग्न जनता त्यता आउलान हैं!'

उजुरीसम्बन्धमा उनले गत माघ ११ गते नै 'त्यो वाइयत उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो ?' भनेर राय प्रतिकृया दिएकोमा पुनः पढ्नका लागि स्पष्टीकरण पठाइदिएको बताएका छन्। धरानको खानेपानी बोर्ड स्वयत्त निकाय भएकाले यसले आफ्नो नगरवासीहरूलाई पानीको आपूर्ति गर्न सबै खाले विधि अपनाउने उनले जवाफमा उल्लेख गरेका छन्।

केन्द्र सरकारलाई कोशीबाट पानी ल्याइदिन भनेर वर्षौँ बिन्ती बिसाउँदा पनि नसुनेपछि गाग्री लिएर आफू सिंहदरबार पुगेको पनि उनले उल्लेख गरेका छन्। उनले भनेका छन्, 'जनतालाई पानी चाहिएको छ है तत्काल पानी चाहिएको छ। आश्वासन र कागजको खोस्टा होइन, पानी चाहिएको छ के। त्यसैले हाम्ले श्रमदान गर्नु परेको हो खोइ कुरा बुझ्या!'

केन्द्र सरकारबाट तत्काल कोशीको पानी ल्याएर खुवाउने सम्भावना नभएपछि बोर्डको स्वायत्त अधिकार प्रयोग गरी समर्थक र सहयोगीहरूको आर्थिक र भौतिक सहयोग लिएर कोकाहा खानेपानी श्रमायोजना २ चलिरहेको उनले बताए।

प्रकाशित: २९ चैत्र २०८१ ०९:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App