११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जनता किन सन्तुष्ट छैनन् ? चन्द्र भण्डारीले देखेका दुई कारण

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले दल तथा नेतासँग जनता मूलत: दुईवटा कारणले सन्तुष्ट नरहेको बताएका छन्। बिहीबार (आज) पार्टीको बाँके क्षेत्र नं. १ तेस्रो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

भण्डारीले पहिलो कारण एउटै नेता रहिरहनु भएको बताएका छन्। '३४ वर्षदेखि एउटै नेता छ। प्रचण्डजी अगाडि देखिनुहुन्छ। केपी ओलीजी देखिनुहुन्छ। शेरबहादुरजी देखिनुहुन्छ। ३४ वर्षदेखि उहाँहरू हुनुहुन्छ। तर, ३४ वर्ष उहाँहरू भइराख्दा जनताको समस्या समाधान हुनुपर्‍यो कि परेन ?,' उनले भने।

उनले थपे, 'अमेरिकाको राष्ट्रपति जतिसुकै कराऊन्, जतिसुकै उफ्रिऊन्, चार वर्षपछि जान्छ नि। चार वर्षपछि अर्को आउँछ नि। उसले आशा जगाउँछ नि। हाम्रा त उही छन्, सिन्डिकेट छ। नेतृत्वमा सिन्डिकेट, ठेक्कापट्टामा सिन्डिकेट। अरु कोही आउँदै आउँदैनन्। त्यसले असन्तुष्ट भयो। असन्तोषको बिउ रोपियो।'

यसपछि पार नलगाएसम्म जनतामा रहेको असन्तोष नघट्ने उनले बताए। 'रोग के हो, रोगलाई घुमाइ-घुमाइ कुरा गर्न त भएन नि। क्यान्सर हो कि, किड्नीको समस्या हो कि, ज्वरो हो कि, रोगअनुसारको औषधि हामीले दिनुपर्छ। रोग पत्ता लगाउनु छैन, औषधि-सौसधि दिनु छैन। रोग पत्ता नलागेपछि जे पायो त्यही औषधि खाएपछि क्यान्सर हुन्छ, किड्नी ड्यामेज हुन्छ। त्यसैले पार्टीभित्रको रोग के हो भनेदेखि नेताहरूले पार्टी छाडेनन्। सधैँभरी यिनै रहे। राम्ररी काम गर्न सकेनन्,' उनले भने।

भण्डारीले दोस्रो कारणचाहिँ सही मानिस, सही समयमा र सही ठाउँमा नरहनु भनेका छन्।

'समानुपातिक त बनायौँ, महिलाहरूलाई ३३ प्रतिशत त दियौँ । तर, त्यही महिला घुमाइ-फिराइ एकजना मात्रै बनाउने ? जोसँग पैसा छ, जो दह्रो छ, ऊ त चुनाव लड्न जाने हो नि। नहुने साथीहरूलाई ल्याउनका लागि न हामीले संविधान बनाएको, व्यवस्था गरेको। तर, त्यस्तो छैन,' उनले भने।

एकथरी महिलाहरूलाई सधैँ समानुपातिकमा सदनमा पुर्‍याइराखेको दृष्टान्त सुनाउँदै उनले यसैले बिगारेको बताए। 'हामीले एकथरी महिलाहरूलाई सधैँ सदनमा लगिरहेका छौँ। त्यसको विरोध हामीले गर्नुपर्छ। त्यस्तै जनजातिमा, दलितमा, मुस्लिममा, थारुमा यही नियम न लागू भइरहेको छ। तब पो नयाँ मान्छे, विधान आउँछ। सुध्रिन्छौँ। तर, हाम्रोमा त्यस्तो छैन,' उनले भने।

प्रकाशित: २८ चैत्र २०८१ १८:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App