काठमाडौं उपत्यकामा चोरी भएका ६० ओटा दुई पाङ्ग्रे सवारी साधन (३४ मोटरसाइकल र २६ स्कुटर) आज सम्बन्धित मालिकहरूलाई ट्राफिक प्रहरीले जिम्मा लगाएको छ।
सवारी साधनहरू खोजतलास गर्दा केहीमा वास्तविक र केहीमा नक्कली नम्बर प्लेट भेटिएको थियो। चोरीका सवारी साधनहरू काडाँघारी, पुल्चोक, स्वयम्भू, दरबारमार्ग, चापागाँउ, टोखा, नयाँ बसपार्क, बौद्ध, सिनामंगल लगायतका स्थानबाट फेला परेका थिए।
आज हस्तान्तरण गरिएका ६० सवारी साधनसहित गत साउन यता ट्राफिक प्रहरीले १८१ ओटा चोरी भएका सवारी साधन मालिकहरूलाई जिम्मा लगाइसकेको छ। चोरीमा संलग्न २५ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि प्रहरी वृत्त/परिसर पठाइएको छ।
ट्राफिक प्रहरी उपरीक्षक नरेश राज सुवेदीले सवारी चोरीबाट जोगिन ह्वील लक, चेन लक, डिस्क लक जस्ता सुरक्षा उपकरण प्रयोग गर्न र एकान्तमा पार्क नगर्न आग्रह गरेका छन्। सवारी हराएमा १०३ वा १०० नम्बरमा खबर गर्न सकिने जानकारी पनि दिइएको छ।
प्रकाशित: ११ पुस २०८२ १७:०८ शुक्रबार





