नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले हिजो विभाजन भएकाले अब एकता असम्भव छ भन्नु मार्क्सवादी सोचाइ हुन नसक्ने बताएका छन्।
आज (मंगलबार) प्रगतिशील लेखक संघको १३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै दाहालले यस्तो बताएका हुन्। उनले भने, 'हिजो विभाजन भएकाले अब एकता असम्भव छ भन्नु चाहिँ मार्क्सवादी सोचाइ हुन सक्दैन। त्यो द्वन्द्वात्मक भौतिकवादी हुन सक्दैन।'
उनले कम्युनिस्ट एकताको प्रयास भएको पनि कहिले सफलजस्तो र कहिले असफलजस्तो हुने गरेको बताए। उनले विगत सम्झिँदै भने, 'पछिल्लो चरणमा देशका दुईवटा अलि प्रभावशाली कम्युनिस्ट पार्टीका बिचमा एकताका प्रयास भए। एकता भयो पनि। सबैले अनुमोदन पनि गरे, तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौँ।'
दाहालले झण्डै दुई तिहाइको नजिक पार्टी पुग्दा पनि एकतालाई बचाउन नसकेको जिकिर गरे। उनले आगामी दिनहरूमा सबैले त्यसबाट शिक्षा लिनुको अर्को विकल्प नरहेको समेत उल्लेख गरेका छन्।
प्रकाशित: २६ चैत्र २०८१ १३:४० मंगलबार





