गृहमन्त्री रमेश लेखकले तीनकुने घटना आपराधिक घटना भएको बताएका छन्।
शुक्रबार (आज) बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।
'तीनकुने घटना आपराधिक घटना हो। राज्यले त्यसलाई आपराधिक घटनाकै रूपमा बुझेको छ र कारबाही अगाडि बढाएको छ। यसमा सरकार प्रष्ट छ, म प्रष्ट छु,' उनले भने, 'यस्ता घटना जहिल्यै पनि गलत हुन्छ।'
सरकार नागरिक, सञ्चारगृह, सुरक्षाकर्मीलगायत सबैको सुरक्षाका लागि तयार रहेको उनले बताए। 'सरकार नागरिक, सञ्चारगृह तथा सुरक्षाकर्मीहरूको सुरक्षाका लागि सधैँ तयार छ। यस्ता घटनाको पुनरावृत्ति हुन दिँदैनौँ,' उनले भने।
प्रकाशित: २२ चैत्र २०८१ १४:५९ शुक्रबार