राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपाल एकल नस्लीय राज्य नभएको बताएका छन्। बिहीबार (आज) काठमाडौंमा सङ्घीय लोकतान्त्रिक मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महतोले यस्तो बताएका हुन्।
'यो राज्य एकल नस्लीय होइन, अनि शासन कसरी एकल नस्लीय हुन्छ हौ?,' महतोले भने, 'नस्लीय चिन्तनबाट गरिएको शासनका कारण हामी मिल्नुपर्ने बाध्यता आएको छ।'
उनले अब कांग्रेस-कम्युनिष्टले केही नगर्ने टिप्पणी पनि गरे। 'कांग्रेस-कम्युनिष्टलाई जनताले ३५ वर्ष विश्वास गर्यो। तर, केही गरेनन्, पीडा छ। यो पीडाबाट जनता गुज्रिरहेको छ। यसबाट पार पाउनका लागि अन्तिम पटक हामी लड्छौँ। मोर्चाले आफ्नो ठाउँबाट लड्नेछौँ। यो देशमा अधिकार र पहिचानका लडाइँ, जुन अधुरा रहन गएका छन्। यी सवालका लागि हामी सबै गोलबद्ध हुनुपर्छ,' उनले भने।
उनले मोर्चामा सम्बद्ध दलहरूले पनि जनताका माझ क्षमायाचना गर्नुपर्ने बताए। 'लडाइँ आवश्यक छ। तर, त्यसको, त्यो आन्दोलनको सुरुवात जनतासँग क्षमा मागेर गर्नुपर्छ,' उनले भने।
प्रकाशित: २१ चैत्र २०८१ १७:१० बिहीबार