प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रकै कारण महिलाहरू उद्यमशीलता, व्यापार र नेतृत्वका क्षेत्रमा अघि बढ्न सफल भएको बताएका छन्।
बिहीबार आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उनले विगतमा महिलाहरूलाई अवसरबाट वञ्चित गरिए तर अहिले लोकतन्त्रले अवसरहरूको ढोका खोलिदिएको उल्लेख गरे।
‘पहिला महिलाहरूलाई घरधन्दा र चुलोचौकामा सीमित गरिन्थ्यो। शिक्षा दिन नहुने सोच थियो। अब समय बदलिएको छ, महिलाहरू अगाडि बढ्न पाएका छन्।’
प्रधानमन्त्री ओलीले राजतन्त्रकालीन समयमा महिलाहरू दबिएर बस्न बाध्य भए पनि अहिले लोकतान्त्रिक व्यवस्थाले उनीहरूलाई स्वतन्त्र रूपमा व्यवसाय, उद्यम र समाजसेवामा लाग्ने अवसर दिएको सुनाए।
‘राजाहरूको पालामा महिलाहरू बाहिर आउन सक्दैनथे, अहिले लोकतन्त्रका कारण उनीहरू अगाडि बढ्न पाएका छन्। तर, अहिले फेरि राजतन्त्रको नारा लगाउनेहरू छन्, उनीहरू सत्तामा आए महिला फेरि पछि धकेलिन्छन्।’
उनले महिला सशक्तीकरणलाई लोकतान्त्रिक प्रणालीको उपलब्धि भन्दै अबको समाजमा महिला र पुरुषबिच कुनै भेदभाव नरहेको स्पष्ट गरे। ‘पहिले एकजनाले मात्र पहल गर्नुपर्थ्यो, अहिले राज्यले नै पहल गरिरहेको छ। महिलाहरू व्यापार, राजनीति, समाजसेवा हरेक क्षेत्रमा नेतृत्व लिइरहेका छन्। यो लोकतन्त्रकै उपलब्धि हो।’
त्यस अवसरमा प्रधानमन्त्री ओलीले संसद् अवरोधबारे पनि धारणा राख्दै प्रतिपक्षी दलहरूले गैर-जरुरी विषय उठाएर सदन अवरुद्ध गरेको आरोप लगाए।
‘प्रतिस्थापन विधेयक पारित गर्नुपर्ने समयमा संसद् अवरुद्ध गरेर देशलाई कानुनी अन्योलतर्फ धकेल्न खोजिएको छ। कुनै कर्मचारीको सरुवालाई लिएर संसद् रोक्नु गलत हो।'
प्रधानमन्त्रीले गैर-आवश्यक मुद्दालाई बहसको विषय बनाउँदै विकास रोक्न खोजिएको बताए। ‘नन-इस्युलाई इस्यु बनाएर संसद् चल्न नदिन खोजिएको छ। अध्यादेशहरू समयमै पारित नभए देश कानुनी जटिलतामा फस्छ।’
महिला उद्यमी महासङ्घद्वारा आयोजित व्यापार मेलामा नेपाली महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरू प्रदर्शन गरिएका छन्। प्रधानमन्त्री ओलीले महिला उद्यमीहरूको प्रयासलाई प्रशंसा गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन दिनुपर्ने बताए।
कार्यक्रममा वरिष्ठ समाजसेवी अनुराधा कोइरालालगायतलाई सम्मान गरिएको थियो। मेलाको समापन चैत १८ गते हुनेछ।
प्रकाशित: १४ चैत्र २०८१ १५:३२ बिहीबार