काठमाडौँ गोकर्णेश्वरस्थित मकलबारीमा एक युवकको शव गाडिएको अवस्थामा फेला परेको छ।
सर्लाही चक्रघट्टा गाउँपालिका ८ स्थायी घर भई हाल काठमाडौँको गोकर्णेश्वर ५ बाहुनधारा बस्ने वर्ष १९ का राहुल साहको शव चैत १५ गते जमिनमा गाडिएको अवस्थामा फेला परेको थियो। उनी चैत ११ गतेदेखि हराएको भनि प्रहरी वृत्त बौद्धमा जानकारी प्राप्त भई खोजतलास गर्ने क्रममा गोकर्णेश्वर ८ माकलबारीमा सञ्चालित आर.के. मोटरसाइकल वर्कसपको पछाडि रहेको जमिनमा गाडिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
उक्त घटनामा ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सर्लाही, चक्रघट्टा १ घर भई हाल काठमाडौँको गोकर्णेश्वर ५ बाहुनधारा बस्ने वर्ष २२ का निपु मण्डल, सोही नगरपालिका ६ मा बस्ने वर्ष १८ का बिजय यादव, सोही ठाउँ बस्ने वर्ष १८ करनकुमार महतो, सोही नगरपालिका स्थायी घर भई हाल गोकर्णेश्वर ५ बस्ने वर्ष २३ का जोधन मण्डल, सोही नगरपालिका १ बस्ने वर्ष ४५ का उत्तम मण्डल र भारतको बिहार घर भई हाला काठमाडौँको सोही नगरपालिका ७ दक्षिणढोकामा बस्ने वर्ष २९ का सुनिल शर्मा रहेका छन्।
उक्त घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा लेनदेनको विषयलाई लिई उनीहरूले युवकको हत्या गरेको खुल्न आएकाले उनीहरूलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।
प्रकाशित: १८ चैत्र २०८१ १०:३९ सोमबार