१७ चैत्र २०८१ आइतबार
image/svg+xml ८:५३ पूर्वाह्न
राजनीति

कुलमान सामान्य कर्मचारी हुन्, उनी पनि कसैलाई हटाएरै आएका हुन् : प्रधानमन्त्रीका विज्ञ सल्लाहकार खरेल

प्रधानमन्त्री केपी शर्मा ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलले कुलमान घिसिङ सामान्य एक कर्मचारी रहेको बताएका छन्।

बुधबार (आज) नागरिक फ्रन्टलाइनमा कुराकानी गर्दै खरेलले यस्तो बताएका हुन्।

'कुलमान घिसिङ ११औं, १२औं तहका सामान्य कर्मचारी हुन्। नेपाल सरकारसँग त्यस्ता धेरै कर्मचारी छन्। उहाँलाई जस्तै धेरैलाई सरकारले कारबाही गरेको होला,' उनले भने, 'कुलमान आफू आउँदा पनि कसैलाई हटाएरै आएका हुन्।'

यस्तै उनले घिसिङको सरकारसँग प्रस्तुत हुने 'तरिका'माथि पनि प्रश्न उठाए। 'उहाँ सामान्य कर्मचारी नै हुनुहुन्छ। सरकारसँग कसरी प्रस्तुत हुनुभयो, त्यो सबैले देखेकै छौँ,' उनले भने।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सरकारले गत चैत ११ गते पदमुक्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। त्यसका प्रति चौतर्फी विरोध र आलोचना भएका छन्। उनका पक्षमा काठमाडौंमा प्रदर्शनसमेत भएका छन्।

घिसिङ आज मात्रै सर्वोच्च पुगेका छन्। अदालतमार्फत उनी आए भने त्यसलाई सहर्ष स्वीकार्ने सल्लाहकार खरेल बताउँछन्। 'उहाँले कोर्टमा च्यालेन्ज गर्ने भन्नुभएको छ,' उनले भने, 'त्यहाँमार्फत आउनुभयो भने त्यसलाई नराम्रो मान्नुपर्ने विषय छैन।'

प्रकाशित: १३ चैत्र २०८१ १९:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App