प्रतिनिधिसभाको बैठकमा फेरि प्रमुख प्रतिपक्ष दलले अवरोध गरेका छन्।
दिउँसो ३ बजे बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहितका सांसदहरुले टेबल ठटाउँदै उठेर विरोध जनाए।
बिहान ११ बजे सुरु भएको बैठक प्रतिपक्षको अवरोधकै कारण आधा घण्टा स्थगित गरिएको थियो। विशेष कारण देखाउँदै संसद् सचिवालयले बैठकको समय परिवर्तन गर्दै दिउँसो ३ बजे बस्ने निर्णय गरेको थियो।
तर, तीन बजे बैठक सुरु भए पनि प्रतिपक्षको आक्रोश उस्तै देखियो। उनीहरुले पुनः टेबल ठटाएर विरोध जनाए। उनीहरु नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको भन्दै आक्रोशित देखिए।
प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) अनुसार सभामुखले बैठक आजै ३ बजे बस्ने निर्णय गरेका थिए। तर, बैठक चल्नै नदिने जस्तो गरी प्रतिपक्षी सांसदहरु उभिएर विरोध जनाइरहेका छन्।
सभामुख देवराज घिमिरेले आसन ग्रहण गरेर सभा सञ्चालनको वातावरण बनाउन आग्रह गरिरहेका छन्।
प्रकाशित: १३ चैत्र २०८१ १५:१७ बुधबार