जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख ३ गतेभन्दा अगावै पार्टी एकता हुने पक्का भएको छ।
यसका लागि अहिले पार्टीगत कार्यदलहरूले काम गरिरहेका छन्। जनमतको तर्फबाट अब्दुल खान नेतृत्वको कार्यदलले काम गरिरहेको छ भने नागरिक उन्मुक्तिको तर्फबाट गंगाराम चौधरी नेतृत्वको कार्यदलले काम गरिरहेको छ।
यी दुई कार्यदलबीच एक पटक छलफलसमेत भइसकेको छ। गत चैत १० गते साँझ दुई कार्यदलका सदस्यहरूले कसरी एकतासम्म पुग्न सकिन्छ भन्नेबारे छलफल गरेका छन्।
उक्त छलफलका क्रममा दुबैतर्फका कार्यदलले आ-आफ्नै तवरले पार्टी एकताको दस्ताबेज तयार पार्ने र त्यसलाई एकअर्कासँग 'ट्याली' गरेर सहमतिमा एकता प्रस्ताव बनाउने सहमति भएको छ।
अहिले दुबैतर्फका कार्यदलले पार्टी एकताको दस्ताबेज तयार पार्दैछन्। नागरिक उन्मुक्तिका तर्फबाट गठित कार्यदलका संयोजक गंगाराम चौधरीले नागरिकसँग भने, 'अहिले दस्ताबेज बन्दैछ, हामी पनि बनाउँदैछौँ र उहाँहरूले पनि बनाउँदै हुनुहुन्छ। अब बढीमा चार दिनभित्र हामी पुन: बस्छौँ।'
कार्यदलले मुख्यत: विधान र सङ्गठनात्मक संरचनाको विषय टुङ्ग्याउने चौधरीले बताए। 'त्यसबाहेक चुनाव चिह्न, पार्टीभित्रका अरु सङ्गठनहरूको विषयमा पनि हामीले प्रस्ताव गर्छौँ र उहाँहरूको प्रस्तावसँग जुधाएर टुङ्ग्याउँछौँ,' उनले भने।
उनले आफूहरूले पार्टी अध्यक्षका लागि नागरिक उन्मुक्तिकै अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई प्रस्ताव गर्ने बताए। 'उहाँहरूले पनि डा. सीके राउतकै नाम प्रस्ताव गर्ने कुरा गर्नुभएको छ। यसमा छलफल गर्छौँ,' उनले भने।
यता जनमतको तर्फबाट गठित कार्यदलले पनि अध्यक्षका लागि जनमतकै अध्यक्ष डा. चन्द्रकान्त राउतकै नाम प्रस्ताव गर्ने तय गरेको छ। बरु चुनाव चिह्न नागरिक उन्मुक्तिको ढकियालाई मान्यता दिँदा हुने बुझाइमा कार्यदल छ।
यद्यपि, दोहोरो समझदारीबाट विषयहरूको टुङ्गो लगाउने कार्यदलका सदस्य तथा पार्टी प्रवक्ता डा. शरदसिंह यादव बताउँछन्। 'दुबैपक्षीय सहमतिमा विषयहरू टुङ्गो लगाउँछौँ,' उनले भने।
त्यसो त अध्यक्ष चन्द्रकान्त राउत, सहअध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र पार्टी संरक्ष रेशम चौधरी भएर जाने विकल्पमा दुबै पार्टीभित्र छलफल जारी छ। यस्तै पार्टीको नाम नागरिक जनमत पार्टी र चुनाव चिह्न ढकिया प्रारम्भिक प्रस्ताव गरिएको बताइएको छ।
यी विषयहरूको टुङ्गो लगाउनकै लागि कार्यदल बनेको र कार्यदलले कम्तीमा अबको हप्ता दिनभित्र टुङ्ग्याइसक्ने बताइएको छ।
प्रकाशित: १२ चैत्र २०८१ १७:०५ मंगलबार