१८ चैत्र २०८१ सोमबार
image/svg+xml ३:४८ पूर्वाह्न
राजनीति

देउवाले भने: ओलीजी र म जेलदेखिकै साथी हौं, पूर्ण समर्थन छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको स्पष्ट पारेका छन्।

काठमाडौंमा आयोजित पुस्तक विमोचन समारोहमा उनले कांग्रेस सत्तासँग सहकार्य गरिरहेको र प्रधानमन्त्री ओलीलाई साथ रहेको बताएका हुन्।

सुजाता कोइरालाले लेखेको ‘म र मेरो सानुबुबा’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीको उपस्थितिमा देउवाले पुरानो सम्बन्ध स्मरण गर्दै भने, ‘प्रधानमन्त्री ओलीजी र म जेलदेखिकै साथी हौं। हामी जेलभित्रकै गोलघरमा पनि सँगै थियौं।’

उनले कांग्रेस र सरकारबीचको सहकार्य उल्लेख गर्दै थपे, ‘हाम्रो सम्बन्ध राम्रो छ, अहिले पनि राम्रोसँग अघि बढिरहेका छौं। कांग्रेसबाट प्रधानमन्त्रीलाई पूरा समर्थन छ।’

महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र नेता डा. शेखर कोइरालालगायतले कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति असहमति जनाइरहेका बेला देउवाले भने प्रधानमन्त्री ओलीलाई साथ रहेको स्पष्ट पारे।

देउवाले आफ्नो राजनीतिक यात्रामा गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेको उल्लेख गर्दै भने, ‘गिरिजाबाबुले मलाई पार्टीबाट निकाल्नुभयो, मैले अर्को पार्टी खोलें। पछि मिलौं भन्नुभयो, फेरि मिल्यौं। त्यही एकताको प्रस्ताव नभएको भए म कांग्रेसको सभापति बन्न सक्दिन थिएँ।’

उनले पार्टी एकता प्रक्रियालाई स्मरण गर्दै थपे, ‘म पार्टी फोडेर हिँडेको मान्छे, तर गिरिजाबाबुले फेरि मिलौं भन्नुभयो, मिल्यौं, र अहिले सभापति बन्न पाएँ।'

प्रकाशित: १२ चैत्र २०८१ १५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App