बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती राजा चार्ल्स तृतीयसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्ने कार्यक्रम अन्तिम समयमा आएर स्थगित गरिएको छ।
बकिङ्घम दरबारले विशेष कारण भन्दै कार्यक्रम स्थगित गरेको जानकारी नेपाली दूतावास लण्डनका उपप्रमुख विपिन दुवाडीले दिएका छन्।
'हामीलाई बिहीबार बिहान १२:४० बजे प्रमाणपत्र पेस गर्ने समय तोकिएको थियो। पछि फेरि ३:४० बजेका लागि पुनः निर्धारण गरियो। हामी तयारी अवस्थामा दरबार पुगेका थियौं, तर अन्तिम समयमा विशेष कारण देखाएर कार्यक्रम रोकियो,' दुवाडीले नागरिकन्यूजसँग भने।
दरबारका प्रवक्ताले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा राजा चार्ल्सको स्वास्थ्यमा समस्या देखिएको कारणले राजासँग भेट गर्ने कार्यक्रम प्रभावित भएको उल्लेख गरिएको छ।
बकिङ्घम दरबारले फेब्रुअरी २०२४ मा पहिलो पटक ७६ वर्षीय राजा चार्ल्सलाई क्यान्सर भएको जानकारी दिएको थियो।
विज्ञप्तिमा उल्लेख भएअनुसार शुक्रबार राजा चार्ल्स बर्मिङ्घममा हुने चारवटा सार्वजनिक कार्यक्रममा सहभागी हुने तय गरिएको थियो। तर, स्वास्थ्य समस्याका कारण उनी उपस्थित हुन नसक्ने भएपछि दरबार निराश भएको जनाएको छ।
दरबारका प्रवक्ताले स्थगित गरिएका कार्यक्रमहरू पुनः निर्धारण गरिने बताएका छन्।
नेपालसँगै बंगलादेश र सोमालियाका राजदूतहरूले पनि बिहीबार राजासमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्ने तय भएको थियो। तर, सबै राजदूतहरूको कार्यक्रम एकैसाथ स्थगित भएको हो।
परम्परागत रूपमा ओहोदाको प्रमाणपत्र पेस गरेपछि नेपाली दूतावास भवनमा आयोजना गरिने स्वागत समारोहसमेत रद्द गरिएको दूतावासले जनाएको छ।
राजदूत चन्द्रकुमार घिमिरेले गत जनवरी महिनादेखि लण्डनस्थित नेपाली दूतावासमा आफ्नो कार्यभार सम्हाल्दै आएका छन्।
प्रकाशित: १५ चैत्र २०८१ ०७:४० शुक्रबार