राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले यहीँ शुक्रबार हुने प्रदर्शनमा सहभागी हुन सबैमा अपिल गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन राजनीतिक दलसहित सबैलाई अपिल गरेका हुन् ।
विज्ञप्तिमा उनले भनेका छन्, 'राजसंस्था पुनर्स्थापनाका लागि हुने खासगरी राजधानी केन्द्रीत सबै प्रदर्शन तथा आन्दोलनहरूमा यस संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ, सहयोग र समर्थन रहेनछ। त्यसै क्रममा आउँदो शुक्रबार, चैत्र १५ गते राजधानीमा हुन लागेको विशाल जनप्रदर्शनमा देशका सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा संघियता विरोधी आम सर्वसाधारण, राजनीतिक पार्टी र समूहहरूलाई साथ, सहयोग र समर्थन गर्न म हार्दिक अपिल गर्दछु।'
देश एउटा विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको उल्लेख गर्दै सुवेदीले देशभक्त, राजसंस्थावादीहरू एकतावद्ध भएर अघि बढ्नु पर्ने अवस्था आएको बताएका छन् । अन्यथा देश र भावी पुस्ताको भविष्य नै संकटमा पर्ने उनको भनाइ छ ।
विज्ञप्तिमा उनले भनेका छन्, 'देश बचाउने र बनाउने हो भने हामीसँग अब अर्को विकल्प छैन।'
संयोजक सुवेदीले विभिन्न पार्टी तथा समूहहरूबाट भइरहेका राजसंस्थावादी आन्दोलनलाई संयुक्त र सशक्त रूपमा अघि बढाउँदै निर्णायक तहमा पुर्याउन आफूले जिम्मेवारी स्वीकार गरेको बताएका छन् ।
प्रकाशित: १२ चैत्र २०८१ १३:२१ मंगलबार