११ चैत्र २०८१ सोमबार
image/svg+xml ७:१९ पूर्वाह्न
राजनीति

संविधान संशोधनमा सांसद संख्या घटाउनुपर्छ: मन्त्री पौडेल

नेपालगञ्जमा शनिबार कार्यकर्ताहरूसँग कुरा गर्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेल। तस्बिर: अर्जुन ओली/नागरिक

नेपाली कांग्रेसका नेता तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले संविधान संशोधन गर्दा संघ र प्रदेश सांसदको संख्या घटाउनुपर्ने बताएका छन्।

नेपाली कांग्रेस बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले संघीय संसदको सांसद संख्या २७५ बाट घटाएर २०१ र प्रदेश सांसदको संख्या ४० प्रतिशतले कटौती गर्नुपर्ने प्रस्ताव राखे। उनले यो विषयमा पार्टीमा पनि छलफल गरेको सुनाए।

उनले प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयन भए पनि यसले मुलुकमा ठूलो आर्थिक भार थपिने चिन्ता व्यक्त गरे। संघीयतालाई व्यवस्थित गर्न चालु खर्च घटाउनुपर्नेमा उनले जोड दिए।

स्वास्थ्य मन्त्री पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने उल्लेख गरे। स्वास्थ्य बिमाका लागि बजेट अभाव रहेको उल्लेख गर्दै उनले देशभरका अस्पतालहरूलाई बक्यौता रकम भुक्तानी गर्न अझै बाँकी रहेको जानकारी दिए।

उनी शनिबार नेपालगञ्जमा आयोजित वाकाथन कार्यक्रममा सहभागी हुन यहाँ आएका हुन्।

प्रकाशित: ९ चैत्र २०८१ १६:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App