गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र एकता अधिवेशनको वातावरण बनाउने जिम्मेवारी पाएका पूर्वअध्यक्ष शेष घलेले सर्वोच्च अदालतको आदेशविपरीत आफ्नो छुट्टै सञ्जाल स्थापना गर्ने अभियानलाई तीव्र पारेका छन्। गत चैतमा सर्वोच्च अदालतले गरेको फैसलाले संघमा एकता प्रक्रियाको मार्ग प्रशस्त गर्नुपर्ने भए पनि घलेले नयाँ समूह गठन गरी एनआरएनए यूकेलाई विभाजनको दिशातर्फ धकेलेका छन्।
एनआरएनए यूकेको आगामी महाधिवेशन जुलाई १२ का लागि तय भएको छ। तर, घलेले आइतबार अल्डरसटमा आयोजित भेलामा नयाँ कार्यसमितिको घोषणा गरेपछि एनआरएनए यूके औपचारिक रूपमा विभाजित भएको छ। यसअघि संघका अध्यक्ष हितकाजी गुरुङले आगामी महाधिवेशनको औपचारिक घोषणा गरिसकेका थिए। यद्यपि, घलेको उपस्थितिमा तीन महिनाअघि नै प्रेम गाहा मगरको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति गठन गरिएको छ।
नयाँ कार्यसमितिमा प्रेम गाहा मगर अध्यक्ष बनेका छन् भने उपाध्यक्षहरूमा तीर्थ मल्ल (अनिल), डा. ओसिन लिम्बु, धन तामाङ र झलक पुन चयन भएका छन्। त्यस्तै, जुरेन्द्र खजुम महासचिव, कृष्णप्रसाद खतिवडा र धिरज राई सचिव, जानुका राई महिला सचिव, अवेश राई कोषाध्यक्ष र सुरेश केसी सहकोषाध्यक्षको जिम्मेवारीमा छन्। मणिकला गुरुङ महिला संयोजक र विशाल राई युवा संयोजक तोकिएका छन्।
सदस्यहरूमा निकेस लिम्बु, एन्डीयाज राई, किशोरकुमार गुरुङ, सिमनी श्रेष्ठ, विनय दाहाल, असल लिम्बु, निशान पन्धक, रञ्जन राजवंशी, कमलराज तामाङ, मेखसिङ गुरुङ, सोम श्रेष्ठ, दिवराज राई, अन्जिला लिम्बु, सलबहादुर गुरुङ, कुलप्रसाद कँडेल, विजय गुरुङ, त्रिप्रसाद पुन, प्रेम कोरङ्गी र कल्पना कन्डङ्वा रहेका छन्।
आइसीसी सदस्यहरूमा लिला सेलिङ, ओमप्रसाद थापा, डा. बलराम ढकाल, शारदा गुरुङ, युवराज सिंह, कुमार थापा मगर, प्रवेश केसी, अमृत घले, फूलप्रसाद कँडेल र श्रीप्रसाद गुरुङ सिफारिस भएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वअध्यक्ष घलेले समान अधिकारको प्रत्याभूति गराउन सबै पञ्जीकृत सदस्यलाई काठमाडौंमा गएर मतदान गर्ने व्यवस्था मिलाइएको बताए। सर्वोच्च अदालतको आदेशअनुसार संस्थामा संरचनात्मक परिवर्तन गरी आगामी पुस्ताले स्वीकार गर्न सक्ने संस्था निर्माण गर्ने उनको प्रतिबद्धता छ।
साथै, उनले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा रहेका चुनौती हटाउन सक्रिय हुनुपर्ने बताए। उनले भने, “नागरिकता छ, तर अधिकार छैन। यो कागजको खोस्टोजस्तो पनि भएको छैन। संविधानले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार दिने भनेको छ, तर अहिलेसम्म कार्यान्वयन भएको छैन। भिसा लिनुपर्ने अवस्था छ, यो कस्तो नागरिकता हो?” उनले नेपाली नागरिकताको निरन्तरताका लागि अभियान जारी राख्न आह्वान गरे।
घलेले आगामी मे ३ देखि ५ सम्म काठमाडौंमा एकता महाधिवेशन आह्वान गरेका छन्। तर, संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, कुमार पन्त, संस्थापक सदस्यहरू रामप्रताप थापा, भिम उदास, चिरञ्जीवी ढकाल र वर्तमान अध्यक्ष डा. बद्री केसीले नियमित अधिवेशन अक्टोबर ११ मा हुने बताउँदै आएका छन्।
संघको उच्च स्रोतका अनुसार, घलेलाई बृहत् एकताको महाधिवेशनको तयारी गर्न सरकारको निर्देशन थियो। तर, उनले त्यसलाई अस्वीकार गरी एक्लै महाधिवेशन गर्ने घोषणा गरेका छन्। घलेले बेल्जियम, पोर्चुगललगायतका देशहरूको भ्रमण तालिका पनि सार्वजनिक गरेका छन्।
प्रकाशित: ११ चैत्र २०८१ ०६:५० सोमबार