१४ चैत्र २०८१ बिहीबार
image/svg+xml ०:१ पूर्वाह्न
कला/संस्कृति

मनिषाको नेपाली चलचित्रमा फर्कने चाहना

अभिनेत्री मनिषा कोइरालाले चलचित्र ‘फेरी भेटौँला’ बाट अभिनय सुरु गरेपछि बलिउडमा प्रवेश गरेकी थिइन्। 

त्यसपछि उनले नेपाली चलचित्र ‘धर्मा’ मा पनि काम गरिन्। बलिउडबाट विश्वभर आफ्नो अभिनयको छाप छोड्न सफल मनिषाले क्यान्सर जितेपछि जीवनशैली र बुझाइमा परिवर्तन आएको बताइन्।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले काठमाडौंमा बिहीबारदेखि आयोजना गरेको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)’ को आठौं संस्करणमा भएको ‘सिनेमा संवाद’ मा उनले फेरि नेपाली चलचित्रमा काम गर्न चाहेको बताइन्।

उनले भनिन्, ‘म नेपाली चलचित्रमा काम गर्न चाहन्छु। नेपाली लेखक र निर्देशकले नयाँ र फरक विषय लिएर मलाई प्रस्ताव गर्न सक्छन्। पछिल्लो समय नेपाली चलचित्रको निर्माणमा आएको परिवर्तन र कलात्मक शैली मैले देखेकी छु।’

उनले करिअरको सुरुमा नै नेपाली चलचित्रकर्मीलाई आफ्नै कथा भन्न सुझाएको सम्झिइन्। विदेशी चलचित्रको नक्कल गरेर बनाइने चलचित्रले रचनात्मकता नबढाउने उनको ठम्याइ छ। उनले पछिल्लो समय व्यावसायिक र कलात्मक दुवै खालका चलचित्रले सफलता पाइरहेको पनि उल्लेख गरिन्।

‘मैले पहिले भन्ने गरेको शैलीमा अहिले चलचित्र बनिरहेका छन्। म खुसी छु, किनकि कलात्मक चलचित्रले हामीलाई अन्तर्राष्ट्रिय महोत्सवमा पुर्‍याएको छ भने व्यावसायिक चलचित्रले नयाँ कीर्तिमान बनाइरहेका छन्। यो चलचित्रकर्मीका लागि खुसीको कुरा हो,’ उनले भनिन्।

मनिषाले अभिनय गरेको पछिल्लो भारतीय वेब शृङ्खला ‘हिरामण्डी’ ले धेरै चर्चा कमायो। भारतीय निर्देशक सञ्जयलीला भन्सालीले निर्देशन गरेको यो शृङ्खला भारत र नेपालमा लोकप्रिय भयो। उनले भन्सालीसँग ‘खामोसी’ पछि २८ वर्षपछि दोस्रो पटक सहकार्य गरेकी थिइन्।

उनले भनिन्, ‘भन्सालीले दिएको भूमिकालाई जीवन्त बनाउन मैले कुनै कसर बाँकी राखिनँ। उर्दु बोल्नुपर्ने भएकाले भाषा विज्ञसँग लवज सिकेर काम गरेँ।’ 

उनले थपिन्, ‘मैले पात्रलाई जीवन्त बनाउन कोसिस गरेँ, त्यसैले होला त्यो चर्चित भयो। अहिले पनि केही काम गरिरहेकी छु, ती सबै मन खुसी र इमान्दारीसाथ गरेको काम हुन्।’

कार्यक्रममा उनले राजनीतिमा आउने वा चलचित्र निर्माण गर्ने योजना नभएको बताइन्। हाल उनी एउटा पुस्तकमा काम गरिरहेकी छन्। महोत्सव आज साँझ समापन हुने आयोजकले जनाएको छ। रासस

प्रकाशित: ११ चैत्र २०८१ ०७:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App