१७ चैत्र २०८१ आइतबार
image/svg+xml १३:११ अपराह्न
समाज

नेपालमा दोस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुँदै

नेपालमा दोस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ।

नेपाल मटेरियल्स साइन्स सोसाइटीको आयोजनामा तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सुदूरपश्चिम विश्वविद्यालय, जापानको नेसनल इन्स्टिच्युट अफ मटेरियल साइन्स, अमृत साइन्स क्याम्पस र पुल्चोक क्याम्पसको सह-आयोजनामा सम्मेलन आयोजना गर्न लागिएको हो।

ललितपुरको होटल हिमालयमा आगामी बिहीबारदेखि तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल, जापान, अमेरिका, भारत, चीन, स्विजरल्याण्ड, अस्ट्रेलियालगायत एक दर्जनभन्दा बढी देशका ४० भन्दा बढी वैज्ञानिक तथा अनुसन्धानकर्ता सहभागी हुने आयोजकले जनाएको छ।

सम्मेलनको पूर्वसन्ध्यामा बुधबार होटल हिमालय, पुल्चोकमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका प्रतिनिधिहरूले सम्मेलनको उद्देश्य र महत्वबारे जानकारी दिएका थिए।

सो अवसरमा कार्यक्रम संयोजक डा. प्रकाश चन्द्र लोहनीले सम्मेलन विविध विधामा आधारित हुने बताउँदै उपस्थित विद्यार्थीहरूलाई जिज्ञासा राख्न अवसर दिएका थिए। विद्यार्थीहरूले विज्ञान तथा प्रविधिसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए।

अन्तर्राष्ट्रिय वैज्ञानिक मञ्चमा नेपाली अनुसन्धानकर्ताहरूलाई आफूलाई प्रस्तुत गर्ने अवसर दिने विश्वास गरिएको सम्मेलनमा ६ वटा प्रमुख विधामा आधारित रहेर ११४ वटा वैज्ञानिक प्रस्तुतीकरण गरिनेछ।

प्रमुख विषयहरूमा क्वान्टम मेकानिक्स, ऊर्जा भण्डारण तथा रूपान्तरण, हाइड्रोजन उत्पादन, जलवायु परिवर्तनलगायत समेटिनेछन्।

बिहीबार बिहान ९ बजे नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति प्रा. डा. दिलीप सुब्बाले सम्मेलनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि विभिन्न प्राविधिक सत्र सञ्चालन हुनेछन्।

कार्यक्रममा वैज्ञानिक डा. लोक कुमार श्रेष्ठले वैज्ञानिक अनुसन्धानमा नयाँ पुस्ताले समाजमा परिवर्तन ल्याउन सक्ने उल्लेख गर्दै यो अवसरको भरपूर उपयोग गर्न आग्रह गरे। उनले विभिन्न देशका प्रविधिहरूको तुलनात्मक अध्ययन आवश्यक रहेकोमा जोड दिएका थिए।

पत्रकार सम्मेलनमा सहभागीहरूले यस्ता वैज्ञानिक कार्यक्रम गाउँ–गाउँमा विस्तार गर्नुपर्ने सुझावसमेत दिएका थिए। विज्ञान तथा प्रविधिको ज्ञान विस्तारका लागि देशभर यस्ता सम्मेलन अपरिहार्य रहेको उनीहरूको भनाइ थियो।

नेपाल मटेरियल्स साइन्स सोसाइटीले आयोजना गरेको यो सम्मेलनले स्नातक, स्नातकोत्तर तथा पीएचडी तहका विद्यार्थीहरूलाई अनुसन्धान र प्रविधि विकास तर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको सञ्चालन डा. देवल प्रसाद भट्टराईले गरेका थिए।

प्रकाशित: १३ चैत्र २०८१ २१:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App