१७ चैत्र २०८१ आइतबार
image/svg+xml १३:२९ अपराह्न
समाज

दमकल नहुँदा बस्ती जोगाउन मुस्किल

नरैनापुर–४, जयरामपुरमा मंगलबार दिउँसो लागेको आगोलाई दमकल नहुँदा बाल्टीबाट पानी हालेर निभाउँदै सशस्त्र प्रहरी। तस्बिर: गणेश/नागरिक

विकासको मूलधारतर्फ आउँदै गरेको नरैनापुरमा आठ हजार चार सय ८८ घरधुरी छन्।

यही गाउँपालिका बर्सेनि आगलागीका घटनाको सामना गर्नु परेको छ। नरैनापुरमा विपद्को अवस्था विश्लेषण गर्दा बढी क्षति हुनेमध्ये बाढीभन्दा पछाडि आगलागी दोस्रो स्थानमा छ। 

मंगलबार दिउँसो पनि यहाँ आगलागी भयो। तर, समयमै दमकल नपुग्दा १७ परिवारका १० घर जलेर नष्ट भए।

गाउँपालिकाको कार्यालय अर्थात् दमकल स्टोर हुने स्थानभन्दा झन्डै डेढ/दुई किलोमिटरको दुरीमा आगलागी भएको थियो। गाउँभरि फैलिएको आगो आगो निभाउन नेपालगन्ज र कोहलपुरबाट दमकल बोलाउनु पर्‍यो।

नरैनापुरको दमकल बिग्रिएको झन्डै महिना दिनभन्दा बढी भइसक्यो। तर, अहिलेसम्म मर्मत हुन सकेको छैन। विडम्बना, गाउँपालिकाका निश्चित जनप्रतिनिधि र कर्मचारीका लागि दर्जनभन्दा बढी सवारी साधन छन् भने डढेलो र आगलागी नियन्त्रणका लागि अति आवश्यक उपकरण दमकल, अर्थात् वारुणयन्त्र तत्कालका लागि उपलब्ध छैन।

भएको दमकल महिना दिनदेखि बिग्रिएका थन्किएको छ। डढेलो तथा आगलागीको समय सुरु हुँदासम्म पनि मर्मत हुन सकेको छैन।

गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राका अनुसार गाउँपालिकामा एउटा स्कारपियो गाडी, एउटा ट्याक्टर, २८ वटा मोटरसाइकल र दुईवटा एम्बुलेन्स छन्। उक्त सवारी साधनका लागि गत वर्ष मात्रै १५ लाख ६ हजार चार सय ३४ रुपैयाँ मर्मतका लागि खर्च भएको उनी बताउँछन्।

त्यस्तै २९ लाख १८ हजार पाँच सय ८४ रुपैयाँ इन्धनमा खर्च भएको छ। तर, बढी आगलागीका घटना हुने समय सुरु हुँदासम्म पनि जनताका लागि आवश्यक पर्ने दमकल समयमै मर्मत हुन सकेको छैन।

‘मर्मतका लागि हामीले दमकल मर्मत गर्ने ठाउँमा दिएका छौं,’ उनले भने, ‘उक्त बिग्रिएको दमकलका लागि आवश्यक सामान नेपालगन्जमा नहुँदा ढिला भएको छ।’

गाउँपालिकाको दमकल समयमै मर्मत भएको भए मंगलबार भएको आगलागीबाट कम क्षति हुने उनको तर्क छ। ‘गाउँपालिकाबाट नजिकैको गाउँमा आगलागी भएको थियो,’ उनी भन्छन्, ‘तर, दमकल तत्काल उपलब्ध नहुँदा समयमै आगो नियन्त्रण गर्न सकिएन।’

यदि नेपालगन्ज र कोहलपुरबाट दमकल समयमै नपुगेको भए अझ ठूलो क्षति हुन सक्न आङ्कलन गरिएको थियो। गर्मी याम बढेसँगै जिल्लामा आगलागीको विपद् प्रत्येक वर्ष हुने गरेको छ।

समुदायका मानिसहरूको असावधानीपूर्वक आगोको प्रयोग र घरको बनोटले गर्दा आगलागीका घटना हुने गरेको पाइन्छ। आगलागीका घटना बढी होलिया, बेतहनी, मटेहिया, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर, कटकुइया क्षेत्रहरूमा हुने गरेको जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०८० मा उल्लेख गरिएको छ।

बिग्रिएको दमकल मर्मतका लागि समयमै निर्देशन दिए पनि मर्मतमा ढिलाइ भएको गाउँपालिकाका प्रमुख इश्तियाक अहमद शाहले जनाए।

‘दमकल बिग्रिएको लामो समय भइसक्यो,’ उनले भने, ‘छिटो बनाउनु भनेको निर्देशन पनि पालना गर्दैनन्। पालिका प्रमुख कति ठाउँ भ्याउने।’

दमकल अर्को खरिद गर्ने योजना भए पनि स्रोत अभावमा खरिद गर्न नसकिएको उनको भनाइ छ। एउटा वारुणयन्त्र सञ्चालनका लागि आठ/आठ घण्टाको सिफ्टमा कम्तीमा चार/चार जना अग्नि नियन्त्रक र अरु चार जना सहयोगी आवश्यक पर्छ।

कर्मचारीको पारिश्रमिक, इन्धन र मर्मत खर्च जोड्दा एउटा दमकल सञ्चालनका लागि वार्षिक कम्तीमा २५ देखि ३५ लाख रुपैयाँ आवश्यक पर्छ। दमकल अनिवार्य आवश्यकता भए पनि त्यसको खरिद सञ्चालन र व्यवस्थापन निकै पेचिलो भएकाले खरिद गर्न नसकिएको उनको भनाइ छ।

उनका अनुसार पुरानो ढाँचाका सहरी संरचना, सडक, घरको बनोट, भौगोलिक अवस्थिति, पानीको बन्दोबस्त, कर्मचारी व्यवस्थापनलगायत कुरा दमकल सञ्चालन व्यवस्थापनका मुख्य पक्ष हुन्।

आगो निभाउने काममा हालसम्म नेपालमा प्रयोग भइरहेको उच्च प्रविधि र साधन दमकल मात्रै हो। धेरै ठाउँमा दमकलमा भर्ने पानीको व्यवस्थापन समेत हुन सकेको छैन।

साँघुरो सडकका कारण कतिपय पुराना बस्तीमा दमकल छिर्न सक्दैन। जसले गर्दा अति संवेदनशील अग्नि नियन्त्रण सेवा प्रभावकारी बन्न पनि सकिरहेको छैन।

नरैनापुर गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिका लागि सवारी साधनभन्दा जनताको बस्ती सुरक्षाका लागि आवश्यक पर्ने दमकल खरिद गर्नुपर्ने यहाँका नागरिक बताउँछन्।

प्रकाशित: १३ चैत्र २०८१ २१:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App