१६ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

महायज्ञको नाममा दलितको घर भत्काइएको भन्दै सरकारलाई सांसदहरुको ध्यानाकर्षण

सिरहाको ओरही गाउँपालिका–५ मा महायज्ञ गर्न पालिकाले दलित परिवारको घर भत्काइएको घटनाको विषय राष्ट्रिय सभामा उठेको छ ।

शुक्रबारको सभाको बैठकको शुन्य समयमा बोल्ने सांसदहरूले उक्त घटना जातीय विभेद र छुवाछुतको प्रमुख नमूना भएको भन्दै आवश्यक छानविन गरी दोषिलाई कारबाही गर्न माग गरेका हुन् ।

सो घट्नामा गाउँपालिका अध्यक्ष शिवजी यादव र विष्णु महायज्ञका आयोजक भनिएका बजरंगी बाबालाई कारबाही गर्न सांसदहरुको माग गरेका छन् । नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमिल्सिनाले उक्त विभेदको घटनाको नेतृत्व गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न माग गरिन्।

उनले भनिन्, ‘सिरहामा महायज्ञ लगाउने नाउँमा दलितलाई देखिन्छ रे भनेर जनता आवासअन्तर्गत बनेको घर गाउँपालिका अध्यक्षको नेतृत्वमा पालिकाकै डोजरले दलितको भत्काएर उठिवास लगाइएको छ । अध्यक्ष लगायत सबैलाई सरकारले नियन्त्रणमा लिएर कारबाही गरोस् ।’

त्यस्तै नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले उक्त घट्नाको छानविन गरी दोषिलाई कारबाी गर्न माग गरिन्।

उनले भनिन, ‘सिराहामा विष्णु महायज्ञको नाममा गाउँपालिका अध्यक्षद्धारा दलितको घर भत्काइएको छ । यो घट्नाको सरकारले तुरुन्त छानविन गरोस् ।’

राष्ट्रिय जनमोर्चाबाट राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले समेत उक्त घट्ना निन्दनीय भएको भन्दै छानबिन गरी दोषिलाई कानूनको दायरामा ल्याउन माग गरे। समाजमा विद्यमान जातीय छुवाछुत अन्त्यका लागि सबैले एकजुट हुन जरुरी रहेको उनले बताए।

बैठकमा बोल्ने प्रायः सबै सांसदहरुले उक्त घटनाबारे सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । नेपाल जातीय विभेद तथा छुवाछुतमुक्त राष्ट्र घोषणा भएको दुई दशक हुन लाग्दा पनि दलित भएकै कारण बस्ती उठाउनु अमानवीय कार्य भएको उनीहरुले उल्लेख गरे ।

प्रकाशित: ८ चैत्र २०८१ १२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App