सत्तारूढ दल नेकपा एमालेले सेवा प्रवाहमा जोड दिन छाडेर मुलुकमा राजावादीको सक्रियता बढ्दै गएको भन्दै जनचेतना सभा गर्ने भएको छ। लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनसचेतना कार्यक्रम गर्ने भन्दै एमालेले चैतभरि जनतामाझ जाने निर्णय गरेको हो।
मुलुकमा सुशासन कायम गर्नुपर्ने, सेवा प्रवाहमा जोड दिनुपर्ने र नागरिकका समस्या समाधान गर्न सत्तारूढ पार्टी लाग्नुपर्ने आवाज उठिरहेका बेला सरकारको नेतृत्व गरेको एमालेले मुलुकमा राजावादीले गणतन्त्रमाथि धावा बोलेको भन्दै चेतनामूलक जागरण सभा गर्न लागेको हो।
संसद्मा प्रमुख प्रतिपक्षी दलहरूले सरकार दुई तिहाइ बहुमतनजिक भएर पनि सुशासनमा कमजोर भएको आरोप लगाइरहेका छन्। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमार्फत चैत ११ देखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने निर्णय गराएका हुन्।
एमालेले चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रम गर्ने भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। यसैक्रममा चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा मोटरसाइकल ¥याली आयोजना गरिने छ। एमालेले १८ गते सबै जिल्लामा जिल्लास्तरीय जागरणसभा पनि आयोजना गर्ने भएको छ। उसले चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका ६ वटै प्रदेशका सहरहरूमा पनि सभा गर्ने भएको छ। धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा विशेष प्रदर्शनसहित सभा गर्ने एमालेले जनाएको छ। अहिले एमालेको तीनमहिने वडाकेन्द्रित अभियानमा पनि जारी छ।
एमाले प्रचार विभाग प्रमुख गौतमले जनचेतना जागरण सभासँगै जनजीविकाका सवाल, जनताका समस्या र सेवा प्रवाहको विषय पनि सम्बोधन हुने दाबी गरे। ‘हामीले यही सभामार्फत जनातका मुद्दा सम्बोधन, सरकारको भूमिका, सरकार र जनताको जिम्मेवारीबारेमा समेत स्पष्ट पार्नेछौं, नागरिक समाजसँग संवाद गर्नेछौं’, उनले भने ।
एमालेले प्रदेश तहमा हुने विशेषसभामा केन्द्रबाट वक्ताहरू पठाउने भएको छ। जिल्ला तहका सभामा पनि आवश्यकता अनुसार उसले केन्द्रबाट नेताहरू पठाउने भएको छ। महासचिव शंकर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षलाई भर्चुअल बैठकबाट सम्बोधन गर्दै पार्टीले तय गरेका कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयनमा लैजान निर्देशन दिइसकेका छन् ।
एमाले सचिवालयको गत सोमबार बसेको बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर रूपमा छलफल गरी नेपालको संविधान र यसले संस्थागत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धि रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प गरेको थियो ।
जनसचेतनामूलक कार्यक्रम घोषणा गर्नुअघि सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले मुलुकमा पूर्वराजावादी समूहले विदेशी शक्तिको आडमा राजतन्त्र पुनस्र्थापना र हिन्दु राष्ट्र घोषणाको लक्ष्यसहित सुनियोजित रूपमा प्रतिगामी गतिविधि गरिरहेको बताएका थिए। त्यसपछि बैठकले गणतन्त्र पक्षधर सबै शक्तिसँग मिलेर प्रतिगामी गतिविधिको प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्कनेक्रममा उनको स्वागतका नाममा राजावादी समूहले गरेको प्रदर्शनलाई संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरले व्यवस्थामाथिको प्रहारका रूपमा बुझेका छन्। त्यसपछि एमाले, कांग्रेस, माओवादी केन्द्रलगायतका दलले आआफ्नो दलको बैठक राखेर राजवादीहरूको गतिविधिको समीक्षा गसिकेका छन्। माओवादीलगायतका केही दलले समाजवादी मोर्चाका नाममा छुट्टै सभा गर्ने निर्णय गरेका छन्। राजावादी समूहले पनि पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा आन्दोलन गर्ने निर्णय गरिसकेका छन् ।
राजावादीहरू सल्बलाएपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आपसी टेलिफोन संवाद पनि भएको छ।
एमालेका एक पदाधिकारीका अनुसार बाह्य शक्ति खासगरी भारतीय जनता पार्टीका उच्च तहका कतिपय नेता र उक्त पार्टीसँग सम्बद्ध हिन्दुवादी संगठन आरएसएसको आड–भरोसामै पूर्वराजावादीहरू सक्रिय भएको विषयमा सचिवालय बैठकमा छलफल भएको थियो ।
सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिगामी प्रयास सफल नहुने बताएका थिए। ‘लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानी संघर्षको परिणति हो। विगतमा आन्दोलनका क्रममा गरिएका सहमतिविपरीत राजतन्त्र पटक–पटक जनताका अधिकारमाथि आक्रमण र सर्वसत्तावादतर्फ उद्यत् भएपछि राजतन्त्र र लोकतन्त्र सँगै जान सक्दैनन् भन्ने निष्कर्षका साथ ऐतिहासिक संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको हो। जनताको यो फैसलालाई उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन भन्ने कुरा स्पष्ट छ,’ उनले भनेका थिए ।
प्रकाशित: ८ चैत्र २०८१ ०७:०१ शुक्रबार