२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा दुई महिनामै ४९ जनामा डेँगी संक्रमण

उदयपुरमा चालु आर्थिक वर्षको सुरुआती दुई महिनामै ४९ जनामा डेँगी संक्रमण पुष्टि भएको छ । गत आर्थिक वर्षभर जिल्लामा ४६ जनामा संक्रमण देखिएकोमा यस वर्ष साउन र भदौमै संक्रमितको संख्या ४९ पुगेको हो ।

त्रियुगा नगरपालिकाले गाईघाटमा आयोजना गरेको किटजन्य रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी अन्तरक्रियामा जनस्वास्थ्य कार्यालय उदयपुरका वरिष्ठ ल्याब टेक्निसियन लौकाजी राईले उक्त तथ्यांक प्रस्तुत गरेका हुन् ।

स्वास्थ्य कार्यालयका अनुसार त्रियुगामा २३, बेलकामा २३, चौदण्डीगढीमा २ र कटारीमा एक जनामा संक्रमण पुष्टि भएको छ । यी तथ्यांक २ हजार ३ सय ८४ जनाको डेँगी परीक्षणबाट प्राप्त भएको हो ।

जिल्लाका लिम्चुङबुङ, ताप्ली, रौतामाई र उदयपुरगढी गाउँपालिकामा पनि संक्रमण हुनसक्ने भए पनि अहिलेसम्म पुष्टि भएको तथ्यांक नरहेको राईले बताए ।

कोशी प्रदेशका १४ जिल्लामध्ये चालु आर्थिक वर्षको दुई महिनामा झापामा सबैभन्दा बढी ४ सय ३२, खोटाङमा ७२ र उदयपुरमा ४९ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयले डेँगी नियन्त्रणका लागि लामखुट्टेको प्रजननस्थल नष्ट गर्न तथा पानी जम्न नदिन आग्रह गरेको छ । त्रियुगा नगरपालिकाले १६ वटै वडामा सचेतना, लामखुट्टे नियन्त्रण तथा लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्ने जनाएको छ । अभियानमा स्वास्थ्य संस्था, सुरक्षाकर्मी, टोल विकास संस्था, महिला स्वास्थ्य स्वयंसेविका, नागरिक समाज, व्यवसायी, पत्रकारलगायतलाई सहभागी गराइने नगरप्रमुख बसन्त बस्नेतले बताए ।

प्रकाशित: २ आश्विन २०८३ २०:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App