२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
अर्थ

रसुवाको ९० प्रतिशत ठाउँमा बिजुली बल्यो

सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणको कामलाई द्रुत गतिमा अगाडि बढाएको छ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीबाट पूर्वाधारमा क्षति पुगेर विद्युत् अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङमा बाढी गएको भोलिपल्टबाटै पुन: विद्युतीकरणको कामलाई तीव्रता दिएको थियो।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यकाअनुसार धादिङ र नुवाकोटको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा पुन: सुचारु भइसकेको छ।

नुवाकोटमा भदौ २४ गते नै सम्पूर्ण क्षेत्रमा विद्युत पुगेको थियो। धादिङमा त त्यसअगाडि नै सबै ठाउँमा बिजुली पुन सुचारु गरिएको थियो।

बाढीबाट सबैभन्दा प्रभावित रसुवाको ९० प्रतिशत ठाउँमा बिजुली पुर्याइएको छ। उत्तरगया गाउँपालिकाको वडा नं. १, गोसाइँकुण्ड गाउँपालिकाको वडा नं. १, २, ३ बाहेक जिल्लाको बाँकी सबै क्षेत्रमा विद्युत सेवा सुचारु गरिएको प्रवक्ता शाक्यले बताए।

उनका अनुसार राष्ट्रिय विद्युत वितरण नपुगेको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत संस्थागत तथा घरेलु सौर्य प्रणालीमार्फत विद्युत सेवा क्रमशः सुचारु भइरहेको छ।

प्रकाशित: २ आश्विन २०८३ ०९:५५ शुक्रबार