फागुनको पहिलो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको ६ महिने प्रगतिमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र रक्षामन्त्री मानवीर राई उत्कृष्ट तीन (टप थ्री) मा परेका छन्।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना (साउनदेखि पुससम्म) मा सम्पन्न हुनुपर्ने ‘माइलस्टोन’ प्रगति तथा अन्य क्रियाकलापमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ मन्त्रालय ‘फेल’ भएका बेला तीन मन्त्रीहरूको कार्यसम्पादन उत्कृष्ट देखिएको हो।
कानुनमन्त्री चौरसियाले सयमा सय अंक प्राप्त गरेर आफ्नो उत्कृष्ट कार्यसम्पादन प्रस्तुत गरेका थिए भने पर्यटनमन्त्री पाण्डे ८०.५५ अंक ल्याएर दोस्रो भएका थिए। चार सडक निर्माणको प्रगतिका कारण रक्षामन्त्री राईले ५९ अंकका साथ तेस्रो स्थान प्राप्त गरे। यो सरकार बनेपछिका ६ महिनामा सम्पन्न गरिसक्नुपर्ने कामका हिसाबले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल असफल देखिएका छन्। उनको मन्त्रालयले ७.९ प्रतिशत मात्र काम सम्पन्न गरेको छ। त्यसपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले १०.७ प्रतिशत र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले १५.३ प्रतिशत मात्र अंक मात्र प्राप्त गरेका छन्।
रक्षा मन्त्रालयलाई भने राष्ट्रिय गौरवका आयोजनाले उत्कृष्ट बनाएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनअनुसार राष्ट्रिय गौरवको आयोजनासमेत रहेको काठमाडौं–तराई मधेस द्रुतमार्ग सडक आयोजनाको समष्टिगत भौतिक प्रगतिको लक्ष्य ४२ प्रतिशत राखिएकोमा ३६.९६ पूरा भएको थियो।
सरकारले यो आयोजनलाई विशेष प्राथमिकतामा राखेको छ। नेपाली सेनाले निर्माण कार्यको जिम्मा लिएको यो सडकको राईले मन्त्रालय सम्हालेपछिको प्रगति उल्लेख्य भएको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौं–तराई मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गतको धेन्द्रे सुरुङको प्याकेज नं. २ ‘ब्रेक थ्रु’ भएको थियो।
प्याकेज नं. १ त्यसअघि नै ब्रेक थ्रु भइसकेको थियो। मन्त्री राईको कार्यकालमा ब्रेक थ्रु भएको सुरुङमार्गको लम्बाइ एक हजार सात सय २८ मिटर रहेको छ। प्याकेज नं. २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धन्द्रे सुरुङको जोडी सुरुङमध्ये काठमाडौंबाट निजगढतर्फको सुरुङमार्ग साउनमा ब्रेक थ्रु भएको थियो।
त्यतिबेला ब्रेक थ्रु कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माण कार्य नयाँ प्रविधियुक्त ढंगले अघि बढिरहेकोमा खुसी व्यक्त गरेका थिए। नेपालका लागि राष्ट्रिय गौरव तथा विशेष महत्त्व राख्ने यस आयोजना नेपालको विकास निर्माणमा नमुनायुक्त रहेको बताउँदै उनले नेपाल ‘टनेल’ युगमा प्रवेश गरेको समेत बताएका थिए।
त्यसबेला प्रधानमन्त्री ओलीले काठमाडौं–तराई मधेस द्रुतमार्ग सडक आयोजना निर्माण कार्यमा आउने बाधा–व्यवधानहरूलाई समाधान गर्न सरकार हरहमेसा तत्पर रहेको विश्वास दिलाउँदै तोकिएको समयावधिभित्र कार्य सम्पन्न गर्ने गरी अघि बढ्न सम्बद्ध सबै निकायलाई निर्देशनसमेत दिएका थिए। नेपाली सेनाले यो आयोजनालाई समयमै सक्ने लक्ष्य राखेको जनाए पनि सकिने अवस्था छैन। सेना दिवसको अवसरमा आयोजनाका तर्फबाट प्रगति विवरणको जानकारी दिने क्रममा आयोजना समयमै नसकिने संकेत गरिएको थियो।
त्यस्तै राईलाई उत्कृष्ट तीनमा पार्ने अर्को परियोजना कर्णाली करिडोर (लालीबगर–दुल्ली–कुन्ना र घाटपारि चौर–बद्रीगाउँ–झुक्का खोला) हो। कर्णाली करिडोर सडक आयोजनाको भौतिक प्रगति असारयता १४.५४ को लक्ष्य राखिएकोमा १४.२९ प्रतिशत पूरा भएको थियो। कालिकोटको खुलालुदेखि हिल्सासम्म कुल दुई सय ८१ किलोमिटर लम्बाइको कर्णाली करिडोरको एक सय २२ किलोमिटर निर्माण गर्ने जिम्मा नेपाली सेनाले लिएको थियो। यो राष्ट्रिय गौरवको आयोजना निर्माणमा एक अर्ब ६५ करोड ५५ लाख रूपैयाँ खर्च भइसकेको छ।
यस्तै कोसी करिडोर (च्याम्ताङ–घोङ्घोप्पा खण्ड) सडक आयोजनाको समष्टिगत भौतिक परियोजना लक्ष्य ९.५१ राखिएकोमा ९.३१ पूरा भएको छ। मन्त्री राई नै आएपछि कोसी राजमार्गअन्तर्गतको संखुवासभाको खाँदबारीदेखि चीनसँगको उत्तरी सीमा नाका किमाथांकासम्मको सडकको ‘ब्रेक थ्रु’ गरिएको छ। ट्र्याक खन्ने काम सम्पन्न भएसँगै एक सय ५८ किलोमिटरको उक्त सडकको पुसमै ‘ब्रेक थ्रु’ गरिएको हो।
खाँदबारी–किमाथांका सडकअन्तर्गत च्याम्ताङदेखि घोङघोप्पासम्मको साढे १० किलोमिटर सडकको चट्टानसहितको भिर नेपाली सेनाले फुटाएर ट्र्याक खुलाएको थियो। सो सडकको ‘ब्रेक थ्रु’सँगै भारतदेखि चीनसम्मको कोसी राजमार्गको ट्र्याक खोल्ने कार्यसँगै सडक स्तरोन्नति र चौडा बनाउने काम सुरु भएको छ। त्रिदेशीय नाका जोड्ने उक्त सडक सञ्चालनमा आएपछि नेपाल, भारत र चीनका साथै बाङ्लादेशले समेत फाइदा लिन सक्ने बताइएको छ।
महाकाली करिडोर दार्चुला टिंकर (तुसारपानी–टिंकर खण्ड) सडक आयोजनाको समष्टिगत भौतिक परियोजनाको लक्ष्य १४.४१ राखिएकोमा पुससम्म १३.८ प्रतिशत पूरा भएको छ। ब्रह्मदेवदेखि दार्चुलासम्म २९१ किलोमिटर र दार्चुलादेखि टिंकरसम्म १४० किलोमिटर लम्बाइको सो सडक निर्माण कार्यको जिम्मा पनि नेपाली सेनाले लिएको छ।
नेपाली सेनाले तुसारपानीदेखि माथिल्लो क्षेत्रमा चार वर्षदेखि काम गरिरहेको छ। सेनाले फतङगाड, पलटेधार, कोठधार, फुलचिमधार, तल्लो दुम्लिङ, काठा दुम्लिङ, आकतुङती र तम्बाकुमा सडक निर्माणको काम गरिरहेको छ। बेनीघाट–आरुघाट लार्के भन्ज्याङ सडक आयोजनाको समष्टिगत भौतिक परियोजनाको लक्ष्य ३९.१४ राखिएकोमा ३८.८६ पूरा भएको छ।
यसैगरी राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्माणको समष्टिगत भौतिक परियोजनाको प्रगति लक्ष्य ३४.२ राखिएकोमा २४.२१ प्रतिशत पूरा भएको छ। सामुदायिक विपद् प्रतिकार्य तालिम ३५.६०५ को लक्ष्य राखिएकोमा ३१.६१ प्रतिशत पूरा भएको थियो। माइलस्टोन प्रगितर्फ पनि २५ प्रतिशत कार्य गर्नुपर्नेमा १७ प्रतिशत पूरा गरेर रक्षा मन्त्रालय उत्कृष्ट भएको हो।
प्रकाशित: २७ फाल्गुन २०८१ ०७:०५ मंगलबार