विभागीय टोली एपिएफका क्षितिज खनाल र नेपाल आर्मीका विवेक चौधरी तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगितामा पुरुष सिंगल्सको फाइनलमा भिड्ने भएका छन्।
आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा जारी प्रतियोगितामा विवेकले धादिङका सुजन थापालाई १८–२१, २१–१५ र २१–१७ तथा क्षितिजले एपिएफका भोजबहादुर गुरुङलाई २१–१० र २१–१२ को सेटमा हराउँदै उपाधि भिडन्त तय गरेका हुन्। महिला सिंगल्सतर्फ भने नेपाल पुलिसकी नीता लम्साल र आर्मीकी अनुमाया राई फाइनलमा पुगेका छन्।
नीताले आर्मीकी शेष्ना सिर्पालीलाई २१–१५ र २१–१९ तथा अनुले स्पोर्ट्स हबकी सीताकुमारी राईलाई २१–१२, १०–२१ र २१–१५ को सेटमा हराएका हुन्। नखिपोट ब्याडमिन्टन सर्कलको सहआयोजनामा भइरहेको प्रतियोगितामाको मिक्स डबल्समा एपिएफका क्षितिज खनाल र शोभा गौचनको जोडीले पुलिसका जीवन आचार्य र नीता लम्सालको जोडीसँग उपाधि प्रतिस्पर्धा गर्ने भएको छ।
क्षितिज र शोभाको जोडीले आर्मीका पविन लिङ्थेप र अनुमाया राईको जोडीलाई २१–१७ र २१–७ तथा जीवन र नीताको जोडीले आर्मीका विधान अधिकारी र अमिता गिरीको जोडीलाई २१–१७, १४–२१ र २१–१६ को सेटमा हराएको हो। यु–१७ ब्वाइज सिंगल्समा आर्मीका सुविन श्रेष्ठ र पुलिसका कविर केसीले फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्।
आर्मीका सुविनले फिट्नेस पार्कका अमन डंगोललाई २१–१५ र र २१–१६ तथा पुलिसका कविर केसीले लभ बिएका इमा तामाङलाई २१–९ र र २१–१० को सोझो सेटमा पन्छाए। भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा पिएफसीका सञ्जय कपाली र अनिल थाम्सुहाङको जोडीले बालकुमारी रिमिक्स क्लबका शान्त डंगोल र कृष्ण श्रेष्ठको जोडीलाई २१–९ र र २१–१५ तथा तनहुँका देव गुरुङ र कास्कीका शम्भुकुमार श्रेष्ठको जोडीले चन्द्रागिरीका हरि खत्री र राजकुमार पोखरेलको जोडीलाई २१–१५ र र २१–११ को सेटमा निराश पार्दै फाइनलमा स्थान बनाए।
पुरुष डबल्समा आर्मीका विधान अधिकारी र पबिन लिङ्थेपको जोडीले धादिङका राम मल्ल ठकुरी र सुजन थापाको जोडीलाई २१–१२, २०–२२ र २१–१४ तथा सूर्यदर्शनका दीपक राणा र जनिश थकालीको जोडीले बालकुमारीका सुमित महर्जन र सुमन शाक्यको जोडीलाई २३–२१ र २१–१० को सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरे। प्रतियोगिता सोमबार सम्पन्न हुनेछ।
प्रकाशित: ४ चैत्र २०८१ ०८:३० सोमबार