नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सोच परिवर्तन नभएसम्म समृद्ध नेपाल निर्माण गर्न नसकिने बताएकी छिन्। आइतबार (आज) पार्टी केन्द्रिय कार्यालय च्यासलमा नेकपा एमाले अनेमसंघ केन्द्रिय कमिटीले ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आयोजना गरेको एक गोष्ठीमा बोल्दै उनले यस्तो बताएकी हुन्।
जलवायु परिवर्तन, महिला अवसर र सम्भावना विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले अहिले पनि सामन्ती अवशेषहरू अझै बाँकी रहेको भन्दै यसलाई अन्त्य गर्न जरुरी रहेको बताइन्।
उपाध्यक्ष शाक्यले भनिन्, ‘सोचमा रूपान्तरित नभएसम्म हामीले समृद्ध नेपाल निर्माण गर्न सक्दैनौँ समानतायुक्त नेपाल निर्माण गर्न सक्दैनौँ। अहिले पनि नेकपा एमालेले स्पष्ट भनेको छ। पितृसत्ता छ। सामन्ती अवशेषहरू बाँकी रहेका छन्। सामन्ती व्यवस्था अन्त्य गरे पनि सामन्ती अवशेष बाँकी छ। त्यो कहाँ छ भन्दा हाम्रो नेतृत्वको दिमागमा छ।’ उनले थप्दै भनिन्, ‘सामन्ती अवशेष अन्त्य गर्न, हटाउन वैचारिक संघर्ष जरुरी छ। सामन्ती अवशेष सहजै हट्दैन।’
सो अवसरमा उनले अहिले जलवायु परिवर्तनको समस्या जटिल बनिरहेको उल्लेख गरेकी छिन्। जलवायु परिवर्तनको विषय सबै राजनीतिक दलहरूले प्राथमिकतामा राख्नुपर्नेमा उनको जोड रहेको थियो। उपाध्यक्ष शाक्यले आफूहरू संविधानमार्फत, सुशासन, समृद्ध नेपाल बनाउन लागिरहेको पनि उल्लेख गरिन्। आफूहरूको एजेण्डा नै आर्थिक, सामाजिक, सांस्कृतिक एजेण्डा भएको दाबी पनि उनको थियो।
प्रकाशित: २५ फाल्गुन २०८१ १६:११ आइतबार





