नेकपा एमाले मोरङको अध्यक्षमा संस्थापन इतर पक्षका अजम्बर राई निर्वाचित भएका छन् । १०औँ जिल्ला अधिवेशनअन्तर्गत शुक्रवार सकिएको मतगणनामा राई नेतृत्वको प्यानल नै निर्वाचित भएको छ।
अध्यक्षमा राई ४४६ मतसहित निर्वाचित हुँदा संस्थापन पक्षका राजकुमार ओझाले ४०७ मत मात्रै प्राप्त गरेका छन्। सम्पन्न मत परिणामअनुसार पदाधिकारीमा उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, सहसचिवमा सन्तोष बान्तवा र महिला सहसचिवमा उषा झा विजयी भएका छन् । उनीहरू पनि राई प्यानलकै उम्मेदवार हुन्।
यही फागुन १७ गते उद्घाटन भएको जिल्ला अधिवेशनमा केन्द्रीय अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसम्मत गर्न निर्देशन दिएका थिए। जसअनुसार चार दिनसम्म प्रक्रिया अगाडि बढेको थिएन। त्यसपछि मात्रै मतदानसम्म पुगेको थियो।
मतदानमा भने पराजित अध्यक्षका उम्मेदवार ओझालाई अध्यक्ष ओलीसहित संस्थापन पक्षको साथ रहेको चर्चा छ।
प्रकाशित: २३ फाल्गुन २०८१ १९:४३ शुक्रबार





