जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जालझेल गरेर आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन्। आइतबारबाट सुरु भएको जसपा नेपालको केन्द्रीय समिति बैठकमा यादवद्वारा प्रस्तुत ‘राजनीतिक, सङ्गठनात्मक प्रतिवेदन तथा प्रस्तावहरू’ यस्तो आरोप लगाइएको छ।
प्रस्तावको ‘वर्तमान परिस्थिति’ उपशीर्षक खण्डमा यादवले पार्टीभित्रका लोभ पापी र माओवादी अध्यक्ष दाहालका कारण आफ्नो पार्टी फुटेको कुरा उल्लेख गरेका छन्।
‘हाम्रो पार्टीभित्र रहेका लोभी पापी, अवसरवादी चरित्र तथा स्वार्थीहरूलाई अलग्याई आफ्नो सत्ता लम्ब्याउनका लागि प्रचण्ड र उनको नेतृत्वमा रहेको दलको कारणले जनता समाजवादी पार्टी बनेको छ,’ प्रस्तावमा उल्लेख छ। यस्तै तत्कालीन दाहाल नेतृत्वको सरकार र निर्वाचन आयोगको मिलेमतोमा गठित नयाँ पार्टी मुलुक र जनताको भन्दा सरकारमा कसरी टिकिरहने, भ्रष्टाचार गर्ने, पहिचान पक्षधर आन्दोलनलाई कमजोर बनाउने काममा लागेको पनि प्रस्तावमा उल्लेख छ।
यस्तै यादवले वर्तमान गठबन्धन सरकार पनि माओवादी अध्यक्ष दाहालकै कारण बनेको उल्लेख गरेका छन्। ‘प्रचण्डको महत्त्वाकाङ्क्षी एवम् अस्थिर अभिव्यक्ति, समय समयमा जालझेल, षड्यन्त्रमूलक क्रियाकलाप तथा आफू सधैँ सत्तामा कसरी टिकिरहने किसिमको गतिविधिले उत्पन्न भएका अविश्वासका कारण उनको सरकार पतन भयो,’ यादवको लिखित प्रस्तावमा उल्लेख छ।
प्रकाशित: १८ फाल्गुन २०८१ १५:५५ आइतबार