१ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

संसदमा गोकुल–देवेन्द्र जुहारीः माओवादीले गणतन्त्रको विकल्प खोजेको हो ?

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूबिच राजनीतिक घोचपेच चले । उसै पनि सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबिच यस्ता घोचपेच सामान्य नै मानिन्छन्। 

आइतबारको बैठकमा सभामुखको विशेष समय राखेका थिए। जसमा दलीय आधारमा सांसदहरूलाई बोल्ने समय दिइयो। जसमा बोलेका अधिकांश सांसदले आफ्ना कुरा राख्ने भन्दा घोचपेचमै समय खर्चिए। 

यस्तोमा नेकपा एमालेका सांसद गोकुल बास्कोटा र नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलबिचको घोचपेचले बढी रोचक थियो। 

पहिले बोलेका सत्तापक्षका सांसद बास्कोटाले प्रतिपक्षमा रहेका माओवादी केन्द्रमाथि प्रश्नै प्रश्न साधेका थिए। उनले गणतन्त्रको माग गर्दै १० वर्षे सशस्त्र सङ्घर्ष गरेको माओवादीमाथि ‘गणतन्त्रको विकल्प खोजेको हो?’ भन्नेसम्मका प्रश्न सोधेका थिए। 

‘के प्रमुख प्रतिपक्ष(माओवादी केन्द्र)ले लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो ? वामपन्थी र दक्षिणपन्थी विचार बोक्नेको एउटै चुल्हो बलेको हो?,’ बास्कोटाले प्रश्न सोध्दै अगाडि भने, ‘सहमति त्यसमा हो,  याद गर्नुहोला त्यो चुल्होमा कहिल्यै राजतन्त्र फर्काउने, गणतन्त्र मास्ने खिचडी एक पाक्दैन, दुई पाक्दैन तीन पाक्दैन । भ्रममा नरहनुहोला ।’ माओवादीले आफ्नो कित्ता क्लियर गर्न भन्दै कटु टिप्पणी गरेका थिए।

त्यसपछि बोलेका माओवादी केन्द्रका सांसद पौडेलले माओवादी आफ्नो कित्तामा क्लियर रहेको जबाफ फर्काए। ‘पूर्व वक्ता माननीयले माओवादीको कित्ता क्लियर होस् भन्नुभयो। क्लियरै छ,’ उनले भने, ‘हामी हिजो जनमुक्ति सेना निर्माण गरेर गणतन्त्र ल्याएको हो।’ 

अहिले सत्ता पक्षले माओवादी केन्द्रसँग सल्लाह नगरेर अघि बढेकामा पौडेलले प्रश्न गरे । ‘तपाईँहरूले सल्लाहै नगरीकन किन संविधान संशोधनको कुरा गरिरहनुभएको छ ? एक, दुई, तीन कुनै पनि हालतमा माओवादीको रोहवरबिना संविधान संशोधन किमार्थ सम्भव छैन,’ उनले भने ।

माओवादी यसपछि पनि छलफल गर्न तयार रहेको सांसद पौडेलले बताए। उनले भने, ‘तपाईँहरूसँग पूर्वाग्रह राखेको होइन, छलफल गरेर समाजवादी प्रणालीमा जान चाहन्छौँ । हाम्रो कित्ता क्लियर छ । जनताको, उत्पीडित वर्ग समुदायको हित संरक्षण गर्ने समाजवाद हाम्रो कित्ता हो।’

प्रकाशित: ११ फाल्गुन २०८१ १६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App