नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले वर्किङ क्यालेण्डर बनाएर समितिको बैठक सञ्चालन गर्न माग गरेका छन्।
आइतबार अर्थ समितिको बैठकमा भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर छलफलमा सहभागी हुँदै उनले यस्तो माग गरेका हुन्। उनले १५ दिनमा समितिका दुई वटा बैठक बस्ने र पनि समयमै बस्न नसकेको प्रति आपत्ति जनाए।
१५ दिन आफूले जिल्लाका सबै कार्यक्रमहरू रोकेर विधेयकलाई टुंगो लगाउन बसेको भए पनि समितिको बैठक दुई पटक मात्रै बसेको उनले बताए। यसैगरी समितिका बैठक बोलाउने भए समय दिन नसक्ने उनको भनाइ छ। दफावार छलफललाई कति दिनभित्र सक्ने भन्ने विषयलाई लिएर क्यालेण्डर बनाउन माग गरे।
उनले भने, ‘वर्किङ क्यालेण्डर बनाएर यो विधेयक ठिक ढंगले टुंग्याउने काममा लागौँ। अब १५ दिनसम्म जिल्लाका कार्यक्रम छोडेर यता विधेयकका लागि भनेर बसेको छु। तर १५ दिन पर्खिंदा २ वटा बैठक हुन्छ भने म यो ढंगले समय दिन सक्दिन। दफावार छलफललाई कति दिनभित्र सक्ने यो विषयलाई ध्यान दिनुपर्छ। डट टाइममा बैठक बे परिपाटी बसाइएन भने म अर्को चोटी घोषाण गरेरै भन्छु, तपाईंले १० बजे बैठक बोलाउनु भयो भने म १२ बजे आउँछु। डट टाइममा बैठक नगर्ने हो भने।’
उनले बैठक बोलाएको समयभन्दा एक घण्टा ढिलो बस्ने गरेको भन्दै आगामी बैठकमा पनि यस्तै गर्ने भए दुई घण्टा पछि आउने घोषणा गरे।
प्रकाशित: ११ फाल्गुन २०८१ १३:३३ आइतबार





