प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री बनिसकेपछि डेरा नपाउँदा घर ज्वाइँ बस्नुपरेको बताएका छन्। शनिबार पत्नी राधिका शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’को लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यसअघि भने डेरामा बस्नुपरेको बताएका हुन्।
‘गृहमन्त्री भइयो, एउटा खोजेको कोठा छाडेर गइयो त्यहाँ, सांसद होउन्जेल त कोठा नि थिएन। गृहमन्त्री भएपछि मन्त्री क्वार्टर गइयो,’ प्रधानमन्त्री ओलीले भने, ‘हट्न परो, डेरा खोज्यो भेटिँदैन। सालो ज्ञानेन्द्र शाक्यले अब डेरा खोज्यो भेटिँदैन भिनाजु अब दुईचार दिन हाम्रैमा त्यसपछि डेरा सजिलोसँग खोज्दै जाउँला भनेपछि म गएँ।’
त्यसपछि साथीभाइले कहाँ बस्नुहुन्छ भनेर सोध्न थालेपछि आपत् आइलागेको उनले बताए। ‘कतिलाई भन्ने, अनि मैले भने घर ज्वाइँ बस्या छु। त्यसपछि मान्छेले सोध्दै छोडे। ढुक्क हुँदो रहेछ सही कुरा बोल्दा,’ प्रधानमन्त्री ओलीले भने।
मान्छेलाई घर ज्वाइँ भन्दा ह्युमिलियसन हुने भन्दै उनले आफूलाई केही नभएको बताए। उनले भने, ‘अब मैले पाल्छु भन्या भए पो ह्युमिलियसन। यस किताबमा पनि राधिकाले ठिकै लेखेकी छन्, मलाई केपी ओलीले भित्र्याएको होइन, मैले डेरा खोजेर बिहे गरेर केपी ओलीलाई भित्र्याएको...।’ भएको कुरा यही रहेको ओलीले बताए।
पछि घर पनि पत्नी राधिकाले नै बनाएको प्रधानमन्त्री ओलीले दाबी गरे । उनले भने, ‘घर राधिका शाक्यले बनाएको हो, मेरा बुताले, मेरा हुतीले होइन।’
अहिले त्यो घर पनि ट्रस्टलाई दान गरिसकेको उनले बताए। ‘त्यो पनि मेरो कमाई दान गरेको होइन, उनकै कमाई हो। त्यस कारण म जति श्रीमतीसँग खुसी कोही पनि छैन होला सायद,’ उनले भने।
प्रकाशित: १० फाल्गुन २०८१ १७:३७ शनिबार





