राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालमा गणतन्त्र आउँदाका दुई जना प्रधानसेनापतिको भूमिकाप्रति गुनासो गरेका छन्। शुक्रवार राप्रपाले आयोजना गरेको विरोध सभामा मिश्रले यस्तो गुनासो गरेका हुन्।
‘गणतन्त्रमा लैजाने क्रममा मेरो गुनासो जसरी नक्कली गणतन्त्रवादीहरूसँग छ त्यसै गरी नेपाली सेनाका दुई जना प्रधानसेनापतिहरूसँग पनि मेरो गुनासो छ,’ मिश्रले भने। उनले आफू नेपाली सेनाको एकदमै आक्रामक बचाउकर्ता रहेको दाबी गरे । नेपालमा द्वन्द्व अन्त्यको श्रेय ७ दलले लिन खोज्दा आफूले सेनाको नाम लिने गरेको उनले दाबी गरे । उनले भने, ‘यो देशमा द्वन्द्वको अन्त्य नेपाली सेनाको देशभक्ति र साहसले गर्दा खेरी उनीहरूलाई जित्न सकिँदैन भन्दा खेरी नेपालमा द्वन्द्व साम्य भएको हो भन्ने गरेको छु ।’
‘तर नेपाली सेनाका दुई जना प्रधानसेनापतिले समयमा र परिआएको बेलामा आफ्नो परमाधिपति(तत्कालीन राजा)को रक्षा गर्न सक्नुभएन,’ मिश्रले भने, ‘र, उहाँहरू प्रति मेरो ठुलो गुनासो छ।’
कुनै पनि देशमा सेना मात्रै देशको दीर्घकालीन सुरक्षा र दीर्घकालीन हितलाई सुनिश्चित गर्ने संस्था रहेको मिश्रले टिप्पणी गरे । ‘यदि गणतन्त्र आउने बेलामा ती दुई जना पूर्वप्रधानसेनापतिले गएर यी ७ दलका नाइकेहरूलाई तिमेरुले यो संस्थालाई छुन पाउँदैनौँ किनभने यो संस्था भएन भने यो देशको दीर्घकालीन हित र सुरक्षा हुँदैन भनेर अड्डी कसेको भए यो देशमा गणतन्त्र आउनले थिएन,’ मिश्रले भने।
प्रकाशित: ९ फाल्गुन २०८१ १५:२६ शुक्रबार