नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरिबी माथिको अपमानबाट जोगिन आफ्नो देश आफैं बनाउने अभियानमा लाग्न आग्रह गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले गरिबी माथिको अपमानबाट जोगिन आफ्नो देश आफै बनाउने अभियानमा लाग्न र अरुलाई पनि भन्न आग्रह गरेका हुन्।
उनले लेखेका छन्,'विदेशी अनुदानका कार्यक्रमको झण्डै ७० प्रतिशत हिस्सा सम्बन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन् । त्यस्ता अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेका हून भने त्यसको नैतिक दायित्व पनि ती मुलुकै होला नि । गरिबी माथिको अपमानबाट जोगिन आफ्नो देश आफै बनाउने अभियानमा जुटौँ र भनौँ ।'
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फ्रड’ भन्दै नेपाललाई दिने गरेको अनुदान रकम कटौती गरेका छन्। अनुदान रकम कटौती गरेको प्रसंगमा अहिले नेपालमा विभिन्न टिका टिप्पणीहरु भइरहेको छ।
गत मंगलबार अमेरिकाको फ्लोरिडास्थित मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले नेपाललाई वित्तीय संघीयताका लागि दिने २० मिलियन अमेरिकी डलर र जैविक विविधता संरक्षणका लागि दिने १९ मिलियन डलरसहित ३९ मिलियन डलर (करिब ५ अर्ब ४३ करोड रुपैयाँ) रोकिएको जानकारी दिएका थिए । त्यो ‘फ्रड’ भएकाले रकम रोक्नु परेको अभिव्यक्ति ट्रम्पले दिएका थिए ।
प्रकाशित: ९ फाल्गुन २०८१ ०९:३८ शुक्रबार





