२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादीमा रोकियो विद्यार्थीको समानान्तर कमिटी घोषणा

पार्टीले नसच्याए राष्ट्रिय कार्यकर्ता भेला गर्ने चेतावनी

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको सोमबार भनिएको समानान्तर कमिटी घोषणा कार्यक्रम स्थगित भएको छ । हालै पार्टीले जारी गरेको अपानीमा अनेरास्ववियू र युवासँग नेपालका अध्यक्षहरुलाई पार्टीले अन्यायपुर्ण तरिकाले हटाइएको भन्दै असन्तुष्ट पक्षले समानान्तर कमिटी घोषणाको तयारी गरेको थियो ।

बानेश्वरमा अनेरास्ववियूका १५० भन्दाबढी कार्यकर्ता जम्मा भएर गरिएको तयारी पार्टीका सम्मानित नेता झलनाथ खनाल तथा विद्यार्थी र युवासंघका नेता कार्यकर्ताबीचको अनौपचारिक छलफलबाट स्थगित गरिएको थियो ।

हाल अध्यक्ष रहेका विद्यार्थी र युवाहरुले सम्मेलनको मिति तोकेर सम्मेलनबाट मात्र बिदा हुने बताई रहँदा,  त्यसो हुन नसके पूर्ण कमिटीको मिटिङ बसेर मात्र नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्ने माग गरेका थिए । तर,पार्टीले निर्ममतापूर्वक पार्टी अपानीबाटै ठाडो रूपमा हटाएको कारण उनीहरु रुष्ट हुँदै विद्रोहको अवस्थासम्म पुगेको बताएका छन् ।

ब्यानरसहितको कार्यक्रम स्थल पुगेका पूर्वप्रधानमन्त्री खनालले भने, 'भोलिदेखि पार्टीको पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्दैछ । यो तपाईँहरूलाई पार्टीले गरेको अन्यायको विरुद्ध म पार्टीको सबै कमिटीमा सतिसाल झैँ तपाईंहरूको पक्षमा उभिनेछु, पार्टी कमिटीमा सशक्त रूपले तपाईंहरूको भावना अनुरुप र तपाईँहरूलाई भएको अन्यायको विरुद्धमा म लड्नेछु । पार्टीको बैठकमा तपाईंहरू माथि भएको अन्यायको सशक्त ढङ्गले म विरोध गर्नेछु, कुरा उठाउनेछु  हामीले पहिले अन्याय हुदाँ असन्तुष्टी राख्ने ठाउ पार्टी कमिटी हो, त्यहि लडौडा भएन भने त्यसपछि सौचौला र कदम चालौला, मलाई बिश्वास छ पार्टी कमिटीका केहि ब्यक्तिले गरेको यो अन्यायलाई पार्टीको मिटिङले सच्याउने छ।'

खनालको आग्रहपछि आजको लागि तय गरिएको कमिटी घोषणा कार्यक्रम स्थगित गरिएको विद्यार्थी नेता मिलन राईले बताए । विद्यार्थी इन्चार्ज रामकुमारी झाँक्रीले दुबै पक्षका विधार्थी नेताहरुसँग सल्लाह नै नगरी एक पक्षीय रुपमा अध्यक्ष, उपाध्यक्ष र महासचिव घोषणा गरेको दाबी असन्तुष्ट  पक्षको छ । उनीहरुले सम्मानित नेता खनालको आग्रह तत्कालका लागि स्वीकार गरेपनि पार्टीको पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटीले अन्यायपूर्ण निर्णय नसच्याए एक सातापछि राष्ट्रिय कार्यकर्ता भेला गरेर समानान्तर कमिटी घोषणा गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित: ५ फाल्गुन २०८१ २०:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App